
गान्तोक, 24 अप्रेल (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले “पञ्चायती राज दिवस २०२६” को अवसरमा आज नाम्चीस्थित जिल्ला पार्टी कार्यालयमा पार्टीका उपाध्यक्ष तथा मङ्गन जिल्ला अध्यक्ष जर्बु छिरिङ लेप्चाको अध्यक्षतामा एक कार्यक्रम आयोजन गर्यो।
आफ्नो अध्यक्षीय सम्बोधनमा जर्बु छिरिङ लेप्चाले पञ्चायतलाई हस्तान्तरण गरिएका २९ विभाग प्रभावकारी रूपमा कार्यान्वयन नभएको कारण ग्रामीण विकास प्रभावित भएको बताए। उनले पार्टीले पञ्चायतको अधिकार सुदृढ़ गर्ने प्रतिबद्धता व्यक्त गरे।
सीएपीका लोकल सेल्फ गभर्मेन्ट परिषदका अध्यक्ष तथा वर्तमान जिल्ला पञ्चायत सदस्य देवराज राईले आफ्नो सम्बोधनमा संविधानले अधिकार दिएको भए पनि स्थानीय तहका पञ्चायतहरूलाई “पिँजरामा थुनिएको बाघ” जस्तै बनाइएको टिप्पणी गरे। उनले संविधानको ७३औँ संशोधन अन्तर्गत स्थानीय तहले स्वतन्त्र रूपमा आफ्नो अधिकार प्रयोग गर्नुपर्नेमा जोड दिँदै पार्टीले स्थानीय सरकार सशक्त बनाएर ग्रामीण विकासलाई तीव्र बनाउने घोषणा गरे।
पार्टीकी केन्द्रिय कार्यकारिणी समितिकी उपाध्यक्ष तथा प्रभारी सन्जु राईले महिलाको सशक्तीकरणको विषयमा कटाक्ष गर्दै भारी मतले निर्वाचित एक महिलालाई दुई दिनमै राजीनामा दिन बाध्य पारिएको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरिन्। उनले आगामी विधानसभा चुनाउमा ३३ प्रतिशत महिलालाई उम्मेदवारी दिने र मन्त्रिमण्डलमा समेत समावेश गर्ने चुनौती व्यक्त गरिन्।
पूर्व जिल्ला पञ्चायत तथा वर्तमान सत्ता पक्षको आलोचना गर्दै गणेश अधिकारीले पार्टी र सरकार छुट्याउन नसक्ने प्रवृत्ति तथा पक्ष–विपक्षका आधारमा हुने भेदभावले राज्यको भविष्य कमजोर बनाइरहेको बताए। यसरी नै पूर्व पञ्चायत बिष्णु चाम्लिङले १९९७ सालदेखि शुरु भएको पञ्चायती चुनाउको सन्दर्भ उठाउँदै सत्तारूढ दलको दोहोरो चरित्रमाथि प्रश्न उठाए। उनले तीन ‘एफ’ (कोष, कामकाज, पदाधिकारीहरु) अन्तर्गत शक्तिको असन्तुलित वितरण भएको पनि उल्लेख गरे।
पूर्व पञ्चायत अध्यक्ष तथा पार्टीका राजनीतिक परिषद अध्यक्ष भूषण अधिकारीले सिटिजन एक्सन पार्टी सधैं जनताको पक्षमा उभिने पार्टी भएको बताउँदै निर्दलीय स्थानीय चुनाउको समर्थन गरेको जानकारी दिए।
कार्यक्रमका क्रममा नाथाङ-माचोङ क्षेत्रबाट नयाँ सदस्यहरू पार्टीमा प्रवेश गरेका थिए भने विभिन्न पदहरूमा मनोनयन पनि गरिएको सीएपी सिक्किमले आज प्रेस विज्ञप्तिमा जनाएको छ।
हिन्दुस्थान समाचार / बिशाल