
कोलकाता, 05 अप्रेल (हि.स.)। दक्षिण बंगालका विस्तृत क्षेत्रहरूमा फेरि एकपटक हुरी-बतास तथा पानी पर्ने सिलसिला शुरू हुनेछ। आद्रतापूर्ण गर्मीबीच यो मौसमले अवश्य राहत दिनसक्छ। अलिपुर मौसम विभागले बताएको छ, चाँड़ै दक्षिण बंगालका न्यूनतम पनि दश वटा जिल्लाहरूमा कालबैशाखी आउने सम्भावना छ जसमा कोलकाता पनि सामेल छ।
मौसम विभाग अनुसार शहरमा 40-50 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्नसक्छ भने धेरै वटा ठाउँमा असिना पानी पर्ने आशंका व्यक्त गरिएको छ।
आइतवारदेखि नै कोलकाता लगायत दक्षिण बंगालका केही भागहरूमा हल्का तथा फैलिएको वर्षा हुने सम्भावना छ जुन यो साताभरि यथावत रहनसक्छ। आगामी मंगलवारदेखि शुक्रवारबीच कोलकातामा मेघ गर्जनसितै वर्षा अनि 30-50 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्ने चेताउनी जारी गरिएको छ।
आइतवार पश्चिम मेदिनीपुर, झाड़ग्राम, पुरुलिया, बाँकुड़ा, पश्चिम बर्दवान र बीरभूम जिल्लामा हावा-हुन्डरीको चेताउनी जारी गरिएको छ भने सोमवार यसै सूचीमा हुगली र पूर्व बर्दवान पनि सामेल हुनेछ। आगामी मंगलवारदेखि सम्पूर्ण दक्षिण बंगालमा मौसम बिग्रिने सम्भावना छ।
आागामी बुधवार र बिहीवार तूफान आउने सम्भावना सबैभन्दा अधिक छ। यस अवधि हावड़ा, हुगली, उत्तर 24 परगना, पुरुलिया, बाँकुड़ा, पूर्व औ पश्चिम बर्दवान, बीरभूम, मुर्शिदाबाद र नदिया जिल्लामा 60 किलोमीटर प्रतिघण्टाको गतिले कालबैशाखी तूफान आउने चेताउनी जारी गरिएको छ। तथापि मछुआराहरूको लागि समुद्रमा जाने-नजाने सम्बन्धमा कुनै विशेष चेताउनी जारी गरिएको छैन।
केही जिल्लाहरूमा असिना पानी पर्ने सम्भावना छ। आगामी मंगलवार बाँकुड़ा, पूर्व बर्धमान र बीरभूममा असिना पानी पर्नसक्छ भने उत्तर बंगालका दार्जीलिङ, जलपाईगुड़ी, कुचबिहारमा पनि मंगलवार र बुधवार असिना पानी पर्ने आशंका व्यक्त गरिएको छ।
उत्तर बंगालका सबै जिल्लाहरूको मौसम प्रतिकूल रहिरहनेछ जबकि पार्वतीय क्षेत्रहरूमा घना वर्षाको चेताउनी जारी गरिएको छ। जलपाईगुड़ी र अलिपुरद्वारमा 7-11 सेन्टीमीटरसम्म वर्षा हुनसक्छ।
मौसम विभागले बतायो, पश्चिम र उत्तर-पश्चिम दिशाबाट शुष्क हावा आइरहेको कारणले आइतवारसम्म केही क्षेत्रहरूमा गर्मी अनि आद्रतापूर्ण मौसम रहनेछ। अर्कोतिर उत्तर-पश्चिम बिहारदेखि मणिपुरसम्म एउटा ट्रफ लाइन (अक्ष रेखा) बनिएको छ जुन उत्तर बंगलादेश, मेघालय र दक्षिण-पूर्व असम भएर गुज्रिरहेको छ। यसले गर्दा बंगालको खाड़ीमा प्रचुर मात्रामा नमी आइरहेको छ जसको फलस्वरूप आगामी 5 देखि 9 अप्रेलसम्म राज्यका केही भागहरूमा हावा हुन्डरीको सिलसिला जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा