
खरसाङ, 05 अप्रेल (हि.स.)। खरसाङ विधानसभा समष्टिका लागि निर्दलीय उम्मेदवारको रूपमा चुनावी मैदानमा खडा भएका मोहन शर्माले आइतवार आफु कसैको भोट काट्न अथवा कसैलाई साथ दिन नआएको स्पष्ट गरेका छन्। उनले आफु कुनै राजनीति पनि गर्न नआएको दाबी गर्दै आफ्नो प्राथमिकता भनेको युवाहरुलाई रोजगार दिनु रहेको बताएका छन्।
सिलगढीको दार्जिलिङ मोड निवासी शर्माले आज खरसाङमा आयोजित एक पत्रकार सम्मेलनमा यस्तो दाबी गरे। उनले भने, म केवल बेरोजगार युवाहरुलाई रोजगार दिन आएको हुॅं। युवाहरुलाई रोजगार प्रदान गर्नका लागि उनीहरूको कौशल विकास गराउनु आवश्यक छ। म खरसाङ क्षेत्रमा स्किल डेभलपमेन्ट कार्यालयहरु खोलेर युवाहरुलाई सक्षम बनाएर रोजगार दिन चाहन्छु। घरको एकजना युवालाई रोजगार दिन सके एउटा परिवारको आर्थिक अवस्था सुधार्न सकिन्छ।
निर्दलीय उम्मेदवार शर्माले एक प्रश्नको उत्तरमा भने, मैले युवाहरुलाई रोजगार दिने जिम्मेवारी लिएको छु भने अरुले गोर्खाको परिचय संकटको विषयमा जिम्मेवारी लिनुपर्छ। कसैले पहाडमा शान्ति र विकासको लागि जिम्मेवारी लिनुपर्छ। त्यसरी नै अरुले अन्य विषयहरूको जिम्मेवारी लिएर काम गर्नुपर्छ। उनले आफु अचानक नभई ठूलो भिजन लिएर आएको बताए।
शर्माले भने, चुनाउ लड्नु मात्र मेरो मुद्दा होइन, तर रोजगार नै मेरो मूल मुद्दा हो। मलाई जिताउनु भनेको प्रत्येक घरको एकजनाले काम पाउनु हो। मेरो परिवर्तन भनेको हरेक घरको आर्थिक अवस्थालाई सुधार गरेर परिवर्तन ल्याउनु हो। शर्माले उनको भिजनलाई मन परेमा भोट दिएर विजय बनाउने अपील गरे।
हिन्दुस्थान समाचार / हनोक