
खरसाङ, 05 अप्रेल (हि.स.)। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो पार्टीको ४६औं स्थापना दिवस पालन गरेको छ। पार्टी अध्यक्ष मन घिसिङको अध्यक्षतामा आयोजित स्थापना दिवस कार्यक्रममा विधायक निरज जिम्बा, केन्द्रिय समिति उपाध्यक्ष एनबी छेत्री, सेक्रेटरी जनरल ऋषि थापा, केन्द्रिय समिति सदस्यगण, ब्राञ्च कमिटीका प्रतिनिधिवर्ग, भ्रातृ संगठनका प्रतिनिधिवर्ग साथै गोरामुमो कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको थियो।
स्थापना दिवस कार्यक्रमलाई सम्बोधनमा पार्टी अध्यक्ष मन घिसिङले भने, हामीले २३ अप्रेल र ४ मईलाई मात्र हेरेर कार्य गरेका होइनौं। त्यसपछि के हुने हो र भविष्यसम्मको लागि हेरेका छौं। चुनाउभन्दा ठूलो हाम्रो भविष्य हो, जातिको मुद्दा हो। पहाडमा अहिले मेला लागेको छ। आफ्नो जनसमर्थन देखाउनु लागि परेका छन्। कसलाई देखाउने र के को निम्ति देखाउने ? जातिको मुद्दाको निम्ति कसैले पनि चिन्ता गरेको छैन। यसैकारण अब सबैले जातिको निम्ति चिन्ता लिनुपर्छ। चौकीको निम्ति परिवर्तन भनेर हुदैँन। हामी सत्ता परिवर्तन होइन तर, व्यवस्था परिवर्तन चाहन्छौ। एउटा संवैधानिक व्यवस्था गोर्खा जातिले पाउनु पर्छ।
विधानसभा चुनाउको निम्ति केन्द्रिय समितिको बैठक बस्यो। बैठकपछि पत्रकारहरुलाई सम्बोधन गर्दै केन्द्रिय समिति उपाध्यक्ष एनबी छेत्रीले भने, आजसम्म गोरामुमो एनडीएको घटक दल भएको कारणले गर्दा गोरामुमोले बीजेपीलाई सघाउने निर्णय लिएको छ। उनले भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले पार्टी अध्यक्ष मन घिसिङलाई गरेको पत्राचार विषयमा पनि जानकारी गराए।
हिन्दुस्थान समाचार / हनोक