सांस्कृतिक शोभायात्रा र सम्बर्द्धना कार्यक्रमका साथमा खरसाङमा पहिलो वैशाख कार्यक्रम आयोजना गरिने
सांस्कृतिक शोभायात्रा र सम्बर्द्धना कार्यक्रम


खरसाङ, 05 अप्रेल (हि.स.)। गोर्खा सांस्कृतिक संस्थान् खरसाङले यसपाली पनि खरसाङमा पहिलो वैशाख कार्यक्रम जातीय सांस्कृतिक झाँकीहरु र सांस्कृतिक शोभायात्राको साथमा पालन गर्ने भएको छ। यस अवसरमा सम्बर्द्धना कार्यक्रम पनि आयोजना गरिने बताइएको छ।

यस विषयलाई आज खरसाङको गोर्खा जनपुस्तकालय भवनमा खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरुलाई लिएर सभा सम्पन्न भयो। सभा गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा आशा मुखिया लामाको अध्यक्षतामा सम्पन्न भयो। सभामा 80 देखि 90 वटा संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रमबारे छलफल गरियो।

सभापछि प्रेस क्लब अफ् खरसाङमा पत्रकार सम्मेलन आयोजना गरेर गोर्खा सांस्कृतिक संस्थान् खरसाङको आयोजनामा नयाँ बजारस्थित डब्ल्युबीएनभीएफ खेल मैदानमा आगामी 14 अप्रेल अर्थात् पहिलो वैशाखको दिन विभिन्न सांस्कृतिक कार्यक्रमहरुसितै पहिलो वैशाख कार्यक्रम आयोजना गरिने बताइयो। संस्थान् खरसाङकी अध्यक्षा आशा मुखिया लामाले गत वर्षहरु झैं यसपाली पनि संस्थानको आयोजनामा सांस्कृतिक शोभायात्राका साथै पहिलो वैशाख कार्यक्रम आयोजना गरिने बताइन्।

उनले बताए अनुसार, खरसाङ क्षेत्रका 113 वटा विभिन्न संघ संस्थाहरुलाई लिएर सांस्कृतिक शोभायात्रा एवं पहिलो वैशाख कार्यक्रम आयोजना गरिने छ। विभिन्न संघ संस्थाहरुलाई लिएर खरसाङको रेलवे स्टेशन परिसरबाट सांस्कृतिक शोभायात्रा आयोजना गरिने छ, जुन नयाँ बजारस्थित डब्ल्युबीएनभीएफ खेल मैदानमा पुगेर सांस्कृतिक कार्यक्रममा परिणत हुनेछ।

कार्यक्रममा यसपाली गोर्खा सांस्कृतिक संस्थान् खरसाङको तर्फबाट मुर्जुङ्गा र बिनायकवादक एवं जातीय सांस्कृतिक अभियन्ता पद्मश्री प्रापक सिक्किमका नरेन गुरुङ, जातीयवादक सारङ्गीवादक प्रेम गन्धर्वलाई सम्बर्द्धना जनाइने उनले जानकारी गराएकी छन्। उनले अझैं एकजनाको नाम पछिबाट सार्वजनिक गरिने बताइन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande