
खो-खो खेल मात्र होइन सहनशीलता, सामूहिक कार्य र उपस्थिति निर्माण गर्ने खेल: कला राई
गान्तोक, 05 अप्रेल (हि.स.)। सिक्किम खो-खो एसोसिएशनद्वारा आयोजित पहिलो राज्यस्तरीय खो-खो च्याम्पियनशिप 2026 आइतवार रेशिथाङको खेलगाउँमा भव्य समापन समारोह र पुरस्कार वितरण कार्यक्रमसँगै सम्पन्न भएको छ। विशिष्ट अतिथि, खेलाड़ी, अधिकारीगण र खेलकुद उत्साहीहरूको उपस्थितिमा तीनदिने च्याम्पियनशिप सम्पन्न भयो।
3 अप्रेलमा शुरु भएको उक्त च्याम्पियनशिपले राज्यभरिका विभिन्न जिल्ला, विद्यालय र कलेजहरूका प्रतिनिधित्व गर्ने उत्साही खो-खो खेलाड़ीहरूलाई एउटै मञ्चमा ल्यायो। कार्यक्रमभरि सहभागीहरूले प्रशंसनीय ऊर्जा, अनुशासन र खेलकुद भावना प्रदर्शन गरे, जसले सिक्किमका युवाहरूमा स्वदेशी खेलकुदप्रति बढ्दो उत्साहलाई प्रतिबिम्बित गर्यो। समापन समारोह र पुरस्कार वितरण कार्यक्रममा क्षेत्र विधायक तथा ग्रामीण विकास विभागकी सल्लाहकार कला राई उपस्थित रहेकी थिइन्।
यस अवसरमा राज्य खेलकुद विकास बोर्डका अध्यक्ष रिञ्जिङ वाङ्ग्याल छोपेल, राज्य युवा विकास बोर्डका अध्यक्ष बसन्त योञ्जन, हस्तकला तथा हस्तशिल्प निर्देशनालयका अध्यक्ष विक्रम गुरुङसहित अन्यको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई स्वागत गर्दै सिक्किम खो-खो सङ्घका अध्यक्ष बीके रोकाले कार्यक्रममा उपस्थित खेलाड़ी र अतिथिहरूलाई हार्दिक स्वागत गर्दै च्याम्पियनशिपको सफल सञ्चालन र राज्यमा खो-खोको प्रवर्द्धनमा निरन्तर सहयोग र प्रोत्साहन गरेकोमा सबै विशिष्ट अतिथि र समर्थकलाई हार्दिक आभार व्यक्त गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथिका रूपमा रहेकी विधायक कला राईले पहिलो राज्यस्तरीय खो-खो च्याम्पियनशिप सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजकहरूलाई बधाई दिँदै यस्तो पहलले राज्यभरि परम्परागत खेलकुदको प्रवर्द्धन र युवा खेलाड़ीहरूलाई प्रोत्साहन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन्। उनले रोकाको नेतृत्वमा रहेको आयोजक समितिको प्रयासको प्रशंसा गर्दै च्याम्पियनशिपले बालकबालिका र युवाहरूलाई आफ्नो प्रतिभा, अनुशासन र प्रतिस्पर्धात्मक भावना प्रदर्शन गर्न एक बहुमूल्य मञ्च सृजना गरेको बताइन्।
खेलकुदको महत्त्वमाथि रेखाङ्कित गर्दै राईले खो-खो खेल मात्र नभएर सहनशीलता, सामूहिक कार्य र उपस्थिति निर्माण गर्ने खेल भएको बताइन्। उनले च्याम्पियनशिपभरि सहभागीहरूले देखाएका उत्साह र कौशलले सिक्किमका युवा पुस्ताको बढ्दो खेलकुद क्षमतालाई प्रतिबिम्बित गर्ने धारणा व्यक्त गरिन्।
आफ्नो बाल्यकालको स्मरण गर्दै उनले खो-खो र अन्य स्वदेशी खेलहरू पहिले गाउँको साधारण ठाउँ र विद्यालयको मैदानमा खेलिने गरेको बताइन्। राईले खेलकुद पूर्वाधार र अवसरहरूको सन्दर्भमा राज्यले धेरै लामो यात्रा तय गरेको उल्लेख गरिन् र भविष्यका च्याम्पियनहरू तयार पार्न यस्ता विकासहरूको पूर्ण उपयोग गर्नुपर्ने बताइन्।
विधायक राईले बालकबालिकाको समग्र विकासका लागि नियमित शारीरिक गतिविधि आवश्यक रहेको बताउँदै विद्यालय जीवनमा खेलकुदलाई अझ सक्रिय रूपमा समावेश गर्नुपर्ने आवश्यकतामा जोड़ दिइन्। यस सन्दर्भमा, उनले स्वस्थ, अनुशासित र आत्मविश्वासी पुस्ता निर्माण गर्न विद्यार्थीहरूलाई सानै उमेरदेखि खेलकुदमा भाग लिन प्रोत्साहित गर्ने महत्त्वलाई जोड़ दिइन्।
विधायक राईले अझ भनिन्, “मुख्यमन्त्री पीएस गोलेको नेतृत्वमा राज्य सरकारले खेलकुद प्रवर्द्धन, युवा विकास र राम्रो पूर्वाधार निर्माणमा उल्लेखनीय ध्यान दिइरहेको छ, फलस्वरूप आकाङ्क्षी खेलाड़ीहरूका लागि व्यापक अवसरहरू खोलिएका छन्।”
आफ्नो सम्बोधनको अन्त्य गर्दै उनले सबै सहभागीलाई इमानदारी र दृढ़ सङ्कल्पका साथ कड़ा परिश्रम गर्न प्रोत्साहित गरिन् र धेरै युवा खेलाड़ीले सिक्किम र देशको प्रतिनिधित्व उच्च स्तरको प्रतिस्पर्धामा गर्ने बताइन्।
समापन समारोहको एक भागको रूपमा प्राविधिक अधिकारीहरूलाई च्याम्पियनशिपको सहज र सफल सञ्चालनमा उनीहरूको समर्पित सेवा र योगदानको कदर गर्दै सम्मान गरियो। पुरस्कार वितरण समारोह समापन कार्यक्रमको मुख्य आकर्षण बन्यो, जसमा विजेता टोली र विभिन्न विधामा उत्कृष्ट व्यक्तिगत प्रदर्शनकर्ताहरूलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिएको थियो।
सब-जुनियर महिला विधामा सोरेङ जिल्ला विजयी बन्यो भने मङ्गन जिल्लालाई उपविजेता घोषित गरियो। सोरेङ जिल्लाकी नेहा रसाइलीलाई उत्कृष्ट डिफेन्डर घोषित गरियो। मङ्गन जिल्लाकी उमा प्रधानले उत्कृष्ट एटेकरको उपाधि जितिन्। सब-जुनियर पुरुष वर्गमा मङ्गन जिल्ला विजेता घोषित भयो। अर्कोतिर, नाम्ची जिल्ला उपविजेता घोषित भयो। नाम्ची जिल्लाका अमन भुजेललाई उत्कृष्ट अटेकर घोषित गरियो भने मङ्गन जिल्लाका कृष्ण नाथलाई उत्कृष्ट डिफेन्डर घोषित गरियो।
सिनियर पुरुष समूहमा सोरेङ जिल्ला उपाधि जित्न सफल बन्यो। मङ्गन जिल्लालाई उपविजेता घोषित गरियो। सोरेङ जिल्लाका सुमित लिम्बू उत्कृष्ट अटेकर घोषित भए भने मङ्गन जिल्लाका सुजल प्रधानलाई उत्कृष्ट डिफेन्डर घोषित गरियो।
सिनियर महिलाहरूको समूहमा मङ्गन जिल्ला च्याम्पियन घोषित भयो। त्यसैगरी नाम्ची जिल्ला उपविजेता बन्यो। यस श्रेणीको व्यक्तिगत पुरस्कारमा तेजस्विनी लाम्बाकानीलाई उत्कृष्ट डिफेन्डर घोषित गरियो। प्रिया छेत्रीलाई उत्कृष्ट अटेकरको पुरस्कार प्रदान गरियो।
हिन्दुस्थान समाचार / बिशाल