
गान्तोक, 05 अप्रेल (हि.स.)। उत्तर सिक्किमको ताराम चु पुल नजिक पैह्रोले बाटो चुडिएपछि आवागमन अवरुद्ध बनेको छ। वाहनहरूको आवागमन ठप्प भएकाले लाचेनमा फसेका पर्यटकहरूको निकासीलाई ध्यानमा राख्दै मङ्गन जिल्ला प्रशासनले एड्भाइजरी जारी गरेको छ।
जिल्ला प्रशासनले हाल लाचेनमा फसेका सबै पर्यटकहरूलाई आज राति लाचेनमा नै बस्न तथा विद्यमान मौसम अवस्था र सुरक्षा चिन्ताहरूलाई ध्यानमा राख्दै कुनै पनि आवतजावत नगर्न सल्लाह दिएको छ। फसेका पर्यटकहरूको निकासी भोलि, सोमवार बिहानदेखि शुरू गरिने जानकारी गराइएको छ। यद्यपि, निकासी कार्य मौसमको अवस्था र डोङक्या ला मार्गमा हिउॅं हटाउने कार्यमा निर्भर रहने बताइएको छ।
जिल्ला प्रशासनले पुलिस, आईटीबीपी, बीआरओ र भारतीय सेनाको सक्रिय समन्वयमा फसेका पर्यटकहरूलाई लाचेन, डोङक्या ला, लाचुङ हुॅंदै गान्तोक पुऱ्याउने प्रयास गर्ने जनाएको छ। सबै सम्बन्धित एजेन्सीहरू सडक मार्गबाट हिउॅं हटाउनेमा लागिपरेको पनि जानकारी गराइएको छ। पर्यटकहरूको निकासीको सही समय सूचित गरिने तथा मौसमको अवस्था र सडक सुरक्षाको मूल्याङ्कनपछि निकासी शुरू गरिने छ।
जिल्ला प्रशासनले सबै व्यक्तिहरूलाई सावधानी अपनाउन, सकेसम्म घर भित्रै रहन र स्थानीय अधिकारीहरूले जारी गरेका निर्देशनहरू कडाईका साथ पालना गर्न सल्लाह दिएको छ। सुरक्षित र व्यवस्थित निकासी सुनिश्चित गर्न सबै पर्यटक र सरोकारवालाहरूलाई सहयोगको लागि अनुरोध गरिएको छ।
उल्लेखनीय छ, केन्द्रिय रक्षा राज्यमन्त्री संजय सेठले यसै वर्ष गत फरवरी महिनामा उत्तर सिक्किमको चुङथाङ लाचेन मार्गमा ताराम चु पुल उद्घाटन गरेका थिए। उक्त पुल उद्घाटन भएपछि लाचेनको लागि यातायात सहज बनेको थियो। तर, पुल छेउ सडकको ठूलो भाग चुडिएपछि यातायात पुन: ठप्प बनेको छ।
हिन्दुस्थान समाचार / बिशाल