
कोलकाता, 01 मई (हि.स.)। पश्चिम बङ्गाल विधानसभा चुनाउको मतदान सिद्धिनसाथ तृणमूल कङ्ग्रेसका उम्मेद्वार औ राज्यका दमकल मन्त्री सुजीत बसु शुक्रवार प्रवर्तन निदेशालय (ईडी)- को कार्यालयमा पेश भए। उनी बिहान कोलकाताको सीजीओ कम्प्लेक्सस्थित ईडी कार्यालयमा पुगे।
बताइए अनुसार दक्षिण दमदम नगरपालिकामा भएको नियुक्ति घोटालाको जाँचको सिलसिलामा ईडीले उनलाई धेरै पटक नोटिस पठाइसकेको थियो। यो मामिला कलकत्ता उच्च अदालतसम्म पुग्यो। अदालतले चुनाउ नसकुञ्जेल उनलाई ईडीसमक्ष पेश हुनदेखि छुट दिएको थियो। चुनाउ प्रक्रिया पूरा भएको एक दिनपछि सुजीत ईडी अदिकारीहरू समक्ष पेश भए।
जानकारी अनुसार उनी बिहान लगभग 10 बजेर 26 मिनटमा सीजीओ कम्प्लेक्समा पुगे। अदालतको निर्देशानुसार उनलाई 01 मईमा ईडी सामु पेश हुनुथ्यो। उनको साथमा उनका छोरा समुद्र बसु र दुई जना वकिलहरू पनि उपस्थित थिए। उनको हातमा केही दस्तावेजहरू थिए जसबारे पत्रकारहरूले सोधेका प्रश्नमा उनले बताए, यी सबै अदालतको आदेशका प्रतिहरू हुन्।
स्मरण गराइन्छ, शिक्षक भर्ती घोटालाको जाँच गर्ने क्रममा वर्ष 2022- मा भएको नगरपालिका नियुक्ति घोटालाको मामिला पनि सामु आएको थियो। अयन शीलको घरमा भएको ईडीको खानतलासीमा केही दस्तावेजहरू प्राप्त भएको थियो। त्यसै आधारमा ईडीले सुजीत बसुको घर, कार्यालय तथा उनका निकटवर्ती मानिसहरूको सम्पत्तिलाई लिएर पनि खोजी अभियान सञ्चालन गरेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा