
गान्तोक, 01 मई (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीको श्रमिक प्रकोष्ठले आज जोरथाङस्थित गरीब उत्थान भवनमा अन्तरराष्ट्रिय श्रमिक दिवस मनायो। कार्यक्रमको अध्यक्षता पार्टी अध्यक्ष पवन चामलिङले गरेको थियो। कार्यक्रममा एसडीएफले सिक्किमेली श्रमिकहरूको हक र हितमा १२ वटा महत्वपूर्ण प्रस्तावहरू पेस गरेर सर्वसम्मत निर्णयद्वारा पारित गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
मुख्य अथिति तथा पार्टी अध्यक्ष चामलिङले विश्व भरिका मजदुरहरूले गरेका सहासिक बलिदानको स्मरण गर्दै शहीद वेदीमा पुष्प अर्पण गरेर श्रदासुमन व्यक्त गरे। उनले आफ्नो सम्बोधनमा एसडीएफ पार्टीले सम्पूर्ण श्रमिकहरूको श्रमको महत्व र सम्मानको गरिमा फर्काउने सैद्धान्तिक उद्देश्यका साथ काम गरेको बताए। उनले चुनाउमा वाचा गरेअनुरुप पहिलो सरकारकालमा नै मई दिवसलाई सरकारी छुट्टी घोषणा गरेको जानकारी गराए।
श्रमिकहरूले नमागी राज्य सरकारको अधिकार भित्र पर्ने सिक्किमेली श्रमिकका समस्याहरूलाई सम्बोधन गरिएको बताउॅंदै उनले हाम्रो राजनीतिक उद्देश्य नै समाजबाट पछिपरेका, हेपिएका, दबिएका र उत्पीडनमा परेका जनताको उत्थान र कल्याण रहेको बताए। उनले आज पनि हामी त्यही उद्देश्य र सिद्धान्तमा निरन्तर राजनीतिमा सक्रिय रहेको अवगत गराए।
उनले सिक्किमको स्वतन्त्रता, पहिचान, अधिकार सिक्किमेहरूको मालिकाना हक र हितका लागि कुनै शक्तिसँग नझुकी सिक्किम र सिक्किमेली जनताको पक्षमा कञ्चनजङ्घा जस्तै खडा भएको र रहिरहने प्रतिबद्धता व्यक्त गरे। उनले भने, 'हामी गरीबहरूको न्यायको सुरक्षाका लागि युद्धरत छौं। हामी भारत देशमा गएर किरायादार भएका होइनौं, हामी देशका साझेदार हौं। हामी सिक्किमे जनता भिखारी होइनौं, यस राज्यको माटोका मालिक हौं। हामी भिक्षामा होइन, मालिकाना हकको रुपमा हाम्रो अधिकार चाहन्छौं।'
एसडीएफ अध्यक्षले खटीखाने जनताको साथ र सहयोगमा पुनः जनता राजमा जनतै राजाको शासन स्थापना गरेर फेरि सिक्किमलाई सिक्किमे कै हातमा सुम्पने बताए। उनले भने, 'सिक्किमलाई देशको संविधानले दिएका विशिष्ट संवैधानिक अधिकारहरूभन्दा धेर पनि चाहिॅंदैन र एकैसुत पनि बल मिचाई सहने छैनौं।' उनले वर्तमान सरकारमाथि विधि र कानुनको पर्वाह नगरी नोकरीमा नियुक्त गरेको आरोप लगाउॅंदै यसले सिक्किमेहरूको नोकरी जोखिममा परेको आसय व्यक्त गरे। उनले २०२९ मा एसडीएफ पुन: सरकारमा आए पश्चात लेबर कन्ट्र्याक्ट सिसटम पूर्णरुपमा हटाएर सबै श्रमिकहरुलाई कम्पनी पे-रोलमा नोकरी दिने घोषणा गरे।
हिन्दुस्थान समाचार / बिशाल