पश्चिम बङ्गालका विभिन्न भागमा वर्षा हुने चेताउनी
पश्चिम बङ्गालका विभिन्न भागमा वर्षा हुने चेताउनी


कोलकाता, 01 मई (हि. स.)। पश्चिम बङ्गालका कतिपय जिल्लाहरूमा शुक्रवारदेखि आगामी सातासम्म वर्षा हुने अनुमान व्यक्त गरिएको छ। भारत मौसम विज्ञान विभागको अलिपुर मौसम कार्यालयले बताएको छ, उत्तर अनि दक्षिण बङ्गालका केही जिल्लाहरूमा मेघ गर्जनसितै वर्षा तथा तीव्र हावा चल्नसक्छ।

कोलकाता सहित दक्षिण बङ्गालका केही जिल्लाहरूमा साताभरि नै पानी पर्ने सम्भावना छ। शुक्रवार कोलकाता, हावड़ा अनि हुगलीको आकाशलाई बादलले ढाक्नसक्छ। यस अवधि मेग गर्जनसितै सामान्यदेखि मध्यम वर्षा पनि हुनसक्छ। साथै 40-50 किलोमीटर प्रतिघण्टाको गतिले हावा बग्ने सम्भावना छ। शनिवार मौसममा केही राहत पाउन सकिए पनि आइतवारदेखि फेरि पानी पर्नसक्छ।

आगामी सप्ताह बुधवार र बिहीवार वर्षा अझ तीव्र हुनसक्छ जसले गर्दा तापमान 2-3 डिग्री घट्नसक्छ। उत्तर अनि दक्षिण 24 परगना तथा पूर्व मेदिनीपुर जिल्लामा शुक्रवारदेखि आइतवारबीच घना वर्षा हुने अनुमान लगाइएको छ भने बाँकुड़ा, पुरुलिया र झाड़ग्राम जस्ता पश्चिमी जिल्लाहरूमा तीव्र हावासितै वर्षा हुनसक्छ।

उत्तर बङ्गालका जिल्लाहरूको लागि पनि घना वर्षा हुने चेताउनी जारी गरिएको छ। दार्जीलिङ र कालेबुङमा शुक्रवारदेखि आगामी आइतवारसम्म निरन्तर पानी पर्नेछ। जलपाईगुड़ी, अलिपुरद्वार र कुचबिहार जिल्लामा अधिक सतर्कता अप्नाउने सल्लाह दिइएको छ। जलपाईगुड़ीमा शुक्रवार अधिक पानी पर्नसक्छ भने अलिपुरद्वार र कुचबिहारमा शुक्रवारदेखि आइतवारसम्मै भारी वर्षा हुने अनुमान छ। यस अतिरिक्त मालदा तथा उत्तर र दक्षिण दिनाजपुर जिल्लामा मध्यम वर्षा हुने अनुमान लगाइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande