उच्चतम न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति सुर्य कान्त सिक्किम आइपुगे
मुख्य न्यायाधीश सिक्किम आइपुगे


पाकिम, 01 मई (हि.स.)। भारतको उच्चतम न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति सुर्य कान्त शुक्रबार सिक्किम भ्रमणमा आइपुगेका छन्। उनी राजधानीमा आयोजना हुने प्राविधिक तथा न्यायिक शिक्षासम्बन्धी दुई दिवसीय राष्ट्रिय सम्मेलनमा सहभागी हुन सिक्किम आएका हुन्। उक्त सम्मेलन १ र २ मई, २०२६ मा आयोजना हुनेछ।

मुख्य न्यायाधीशलाई रम्फू पर्यटक सुविधा केन्द्रमा आगमनका अवसरमा सिक्किम पुलिसले गार्ड अफ अनर प्रदान गरेको थियो। न्यायमूर्ति तथा उनीसँगै आएका प्रतिनिधिमण्डललाई सिक्किम उच्च न्यायालयकी न्यायाधीश न्यायमूर्ति मीनाक्षी मदन राई, रजिस्ट्रार जनरल कर्मा वाङ्चुक भोटिया, रजिस्ट्रार ज्योति खड्का, राज्य कानुन सचिव सुरज छेत्री, सिक्किम कानुनी सेवा प्राधिकरण (एसएलएसए) की सदस्य सचिव समिता शर्मा, पाकिमकी वरिष्ठ पुलिस अधीक्षक पारु रुचल आदिले हार्दिक स्वागत गरे।

मुख्य न्यायाधीश न्यायमूर्ति सुर्य कान्तसँग भारतको उच्चतम न्यायालयका न्यायाधीशहरू, देशभरिका विभिन्न उच्च अदालतका मुख्य न्यायाधीशहरू तथा अन्य विशिष्ट व्यक्तित्वहरू पनि सामेल छन्। प्रतिनिधिमण्डलमा कमनवेल्थ लिगल एजुकेशन एशोसिएसनका प्रतिनिधिहरू पनि सामेल छन्, जसले यस सम्मेलनको राष्ट्रिय तथा अन्तरराष्ट्रिय सहभागितालाई झल्काउँछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande