
गान्तोक, 10 जून (हि.स.)। लोकसभा सांसद इन्द्रहाङ सुब्बाले नयाँ दिल्लीस्थित बीआरओ मुख्यालयमा सीमा सड़क सङ्गठन (बीआरओ) का महानिर्देशकसँग सिक्किममा सड़क पुनर्स्थापना कार्यको स्थिति समीक्षा गरे र तत्काल सम्पर्कता सरोकारमाथि गहन छलफल गरे।
बैठकको क्रममा सांसद सुब्बाले लाचेन मार्गको पुनर्स्थापनाको तत्काल आवश्यकतामा जोड़ दिए। उनले महानिर्देशकलाई लाचेनमा सम्पर्कता पुनर्स्थापना सिक्किम सरकारको सर्वोच्च प्राथमिकतामध्ये एक रहेको, जुन मुख्यमन्त्री पीएस गोलेको अध्यक्षतामा हालै भएको उच्चस्तरीय बैठकमा प्रतिबिम्बित भएको उल्लेख गरे।
छलफल भने सिक्किमभरि बीआरओको पर्यवेक्षणमा विभिन्न राष्ट्रिय राजमार्ग र अन्य सड़क खण्डहरूमा पुनर्स्थापना र मरम्मत कार्य तीव्र पार्नमा पनि केन्द्रित थियो, जसमा सिङ्ताम-डिक्चु सड़क मार्ग पनि समावेश थियो। सुब्बाले जनताका लागि सुरक्षित र भरपर्दो सम्पर्कता सुनिश्चित गर्न र आर्थिक तथा सामाजिक गतिविधिहरूमा अवरोधहरू कम गर्ने प्रयासहरूलाई तीव्र पार्ने महत्त्वमा जोड़ दिए।
बीआरओका महानिर्देशकले प्रभावित क्षेत्रहरूमा पुनर्स्थापना कार्यहरूलाई तीव्र बनाउन र महत्त्वपूर्ण पूर्वाधार चुनौतीहरूलाई सम्बोधन गर्न सबै आवश्यक उपायहरू अपनाउने आश्वासन दिए।
सुब्बाले सड़क सम्पर्कको यथाशीघ्र पुनर्स्थापना र सिक्किमका जनताको सुरक्षा र सुविधा सुनिश्चित गर्न सबै सम्बन्धित निकायबीच घनिष्ठ समन्वयको आवश्यकता दोहोर्याएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल