पादरी गङ्गाप्रसाद जयन्तीमा चार व्यक्तित्त्व सम्मानित हुने
पादरी गङ्गाप्रसाद प्रधान स्मृति प्रतिष्ठानको बैठक।


गान्तोक, 10 जून (हि.स.)। पादरी गङ्गाप्रसाद प्रधान स्मृति प्रतिष्ठानले समाजका विभिन्न क्षेत्रमा योगदान पुऱ्याउँदै आएका व्यक्तित्त्वहरूलाई विभिन्न सम्मानद्वारा विभूषित गर्ने भएको छ। बुधवार रानीपुलमा प्रतिष्ठानका अध्यक्ष कमल चामलिङको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय लिएको छ।

आगामी 4 जुलाई, 2026 का दिन रानीपुलमा आयोजन गरिने आदि पत्रकार पादरी गङ्गाप्रसाद प्रधानको 175 औँ जन्म जयन्ती पालन गर्दै चारजना व्यक्तित्त्वलाई पादरी गङ्गाप्रसाद स्मृति प्रतिष्ठान सम्मानद्वारा सम्मानित गरिने भएको छ। प्रतिष्ठानले प्रत्येक वर्ष साहित्य, सङ्गीत, पत्रकारिता अध्यात्म एवम् सामाजिक क्षेत्रमा योगदान पुऱ्याउँदै आएका व्यक्तित्त्वहरूलाई सम्मानित गर्दै आएको छ।

यस वर्ष पादरी गङ्गाप्रसाद प्रधान पत्रकारिता सम्मानद्वारा वरिष्ठ पत्रकार तथा सम्मिट टाइम्स (अङ्ग्रेजी दैनिक) का सम्पादक पुरण तामाङलाई सम्मानित गर्ने निर्णय लिएको छ। पत्रकार पुरण तामाङले पछिल्लो दुई दशकभन्दा बढी समय प्तरकारितामा समर्पित गरेका छन्। यसरी नै साहित्य क्षेत्रमा योगदान दिँदै आएका छन्दोबद्ध कविका रूपमा परिचित साहित्यकार गोपाल ढकाललाई पादरी गङ्गाप्रसाद प्रधान साहित्य सेवा सम्मानद्वारा सम्मानित गरिने भएको छ। यसैगरी अध्यात्म एवम् सामाजिक क्षेत्रमा योगदान पुऱ्याउँदै आएका रेभ. एडवर्ड ब्यारेटो (विशप, दार्जिलिङ-सिक्किम डायोसिस)लाई पादरी गङ्गाप्रसाद प्रधान अध्यात्म सम्मान अनि अध्यात्म सङ्गीतमा पिटर शमसेरलाई पादरी गङ्गाप्रसाद प्रधान सङ्गीत सम्मानले विभुषित गरिनेछ।

समारोहमा आदि पत्रकार पादरी गङ्गाप्रसाद प्रधानको बहुआयामिक योगदानबारे साहित्यकार प्रवीण राई जुमेलीले वार्ता प्रस्तुत गर्नेछन्। बैठकको सञ्चालन मुख्य समन्वयक शिलास राईले गरेका थिए भने एल्डर पत्रुस गुरुङ, जिग्मी लेप्चा, रूपा तामाङ, लुकस शर्मा, पिटर समशेर, कलेप गजमेर, सामुएल सुब्बा,बीबी सोलोमन, मर्कुस लामा,टीएल तामाङ, छिरिङ टासी लेप्चा,मदन छेत्री, कर्मा पावल राई, प्रवीण खालिङको उपस्थिति रहेको थियो।

बैठकमा विभिन्न विषयमा चर्चा गरेपछि रानीपुल एजी चर्चलाई कार्यक्रम स्थल चयन गरिएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande