
गान्तोक, 10 जून (हि.स.)। सिक्किम राज्य सहकारी सङ्घ (सिकोन) अध्यक्ष डा. मङ्गलजीत राईले केन्द्रिय सहकारी राज्यमन्त्री मुरलीधर मोहोललाई नयाँ दिल्लीको राजीव गान्धी भवनस्थित उनको कार्यालयमा भेट गरेका छन्।
भेटघाटको क्रममा डा. राईले राज्यमन्त्री मोहोललाई सिक्किम सरकारको सहकारिता विभागसँगको सहकार्यमा सिक्किम सिकोनद्वारा आगामी 21 जूनमा आयोजना गरिने प्रस्तावित राष्ट्रिय सहकारिता सम्मेलनमा सहभागी हुन औपचारिक रूपमा आमन्त्रित गरे।
डा. राईले मन्त्रीलाई सम्मेलनका उद्देश्य र महत्त्वबारे जानकारी गराए, जसको उद्देश्य देशभरिका नीति निर्माता, सहकारी नेता, शिक्षाविद्, अनुसन्धानकर्ता, विकास संस्था र हितधारकलाई सहकारी क्षेत्रमा उदीयमान अवसर, नवप्रवर्तन, चुनौती र नीतिगत सुधारहरूमा छलफल गर्न एकसाथ ल्याउनु हो।
प्रस्तावित सम्मेलन भारत सरकारको सहकारिता मन्त्रालयको दृष्टिकोण र ‘सहकार से समृद्धि’- को राष्ट्रिय अभियानसँग मिल्दोजुल्दो छ, जसले सहकारी नेतृत्वमा समावेशी वृद्धि, ग्रामीण समृद्धि, आत्मनिर्भरता र दिगो विकासमा जोड़ दिन्छ।
डा. राईले कृषक, महिला, युवा र ग्रामीण समुदायलाई सशक्त बनाउन सहकारिताको महत्त्वपूर्ण भूमिकामाथि प्रकाश पारे। उनले मन्त्रीलाई सम्मेलन सहकारी सुधार, डिजिटल रूपान्तरण, कृषि तथा दुग्ध सहकारी, उद्यमशीलता, क्षमता निर्माण, सुशासन र दिगो जीविकोपार्जन मोडलहरूमा केन्द्रित हुने अवगत गराए। सम्मेलनमा सिक्किम र पूर्वोत्तर क्षेत्रका सहकारिताको उपलब्धि र उत्कृष्ट अभ्यास प्रदर्शन गर्न विशेष जोड़ दिइने बताइएको छ।
राज्यमन्त्री मोहोलले सिक्किममा राष्ट्रिय स्तरको सम्मेलन आयोजना गर्ने सिकोनको पहलको प्रशंसा गरे र समावेशी सामाजिक-आर्थिक विकासमा सहकारिताको महत्त्वपूर्ण योगदान स्वीकार गरे। उनले कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गरे र देशभरि सहकारी आन्दोलनलाई सुदृढ़ पार्न हेतु गरिएका प्रयासको प्रशंसा गरे।
डा. राईले मन्त्रीलाई भारत सरकारको सहकारिता मन्त्रालयका सचिव र अतिरिक्त सचिवलाई सम्मेलनमा सहभागी हुन औपचारिक रूपमा आमन्त्रित गरेको जनाए।
राष्ट्रिय सहकारी सम्मेलनमा भारतभरिका सहकारिता मन्त्रालय, एनसीडीसी, एनसीयूआई, एससीडीएफआई, आईसीएमएआई, नाबार्डका प्रतिनिधि, सहकारिता सङ्घ तथा महासङ्घ, शिक्षाविद्, विज्ञ र सहकारी नेताहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
सम्मेलनलाई नीतिगत संवाद, ज्ञान आदान-प्रदान, क्षमता निर्माण र नवीन सहकारी मोडलहरूको प्रवर्द्धनका लागि एक प्रमुख राष्ट्रिय मञ्चको रूपमा परिकल्पना गरिएको छ, जसले सहकार से समृद्धि को दृष्टिकोण र विकसित भारत निर्माणको लक्ष्यलाई साकार पार्न योगदान पुर्याउने अपेक्षा गरिएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल