
गान्तोक, 11 जून (हि.स.)। सरकारी वरिष्ठ माध्यमिक विद्यालय, डिक्चुले आज विद्यार्थीहरूमा पर्यावरणीय चेतना अभिवृद्धि गर्न तथा दिगो फोहोर व्यवस्थापनलाई प्रवर्द्धन गर्न प्रभावकारी फोहोर वर्गीकरण तथा पुनःप्रयोग (रिसाइक्लिङ) कार्यक्रम सञ्चालन गऱ्यो।
विद्यालयमा भिजेको फोहोर, सुख्खा फोहोर र प्लास्टिकजन्य फोहोरका लागि छुट्टाछुट्टै डस्टबिनसहित फोहोर वर्गीकरण क्षेत्र स्थापना गरिएको छ। यसैगरी, प्रत्येक दिनको अन्तिम पिरियडमा प्रत्येक कक्षाका कक्षा प्रतिनिधिले फोहोर सङ्कलन गरी वर्गीकरण गर्छन्। सम्बन्धित शिक्षकले उक्त फोहोरको तौल नापेर अभिलेख राख्ने कार्य गर्छन्। यसपछि, वर्गीकृत फोहोरलाई कागज, प्लास्टिक आदि प्रकारअनुसार छुट्टाछुट्टै बोरामा सङ्कलन गरी सुरक्षित रूपमा राखिन्छ।
मध्याह्न भोजनबाट निस्कने साग सब्जीको छिल्कालाई फाल्नुका सट्टा त्यसलाई सङ्कलन गरी गाई, बाख्राको आहारको रूपमा प्रयोग गरिन्छ, जसले जैविक फोहोरको उचित उपयोग सुनिश्चित गर्दछ। सङ्कलित सुख्खा फोहोरलाई थप प्रशोधन वा व्यवस्थापनका लागि विद्यालयको निर्धारित डम्पिङ क्षेत्रमा राखिन्छ। विद्यार्थीहरूलाई फोहोर सामग्रीको पुनः प्रयोग तथा पुनर्चक्रण गर्न प्रोत्साहित गरिन्छ। यस अभियानअन्तर्गत विद्यार्थीहरूले फोहोर सामग्रीबाट उपयोगी हस्तकलाका सामग्रीहरू पनि निर्माण गरेका छन्।
विद्यार्थीहरूले फोहोर सामग्री प्रयोग गरी टेबलक्लोथ पनि तयार गरेका छन्। यस गतिविधिले विद्यार्थीहरूमा पर्यावरणप्रति जिम्मेवारीको भावना विकास गर्नुका साथै पुनर्चक्रण र पुनःप्रयोगको संस्कार बढाउने, फोहोर उत्पादन घटाउने तथा विद्यालय परिसरलाई स्वच्छ, सौन्दर्य र वातावरणमैत्री बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल