
जलपाईगुड़ी, 12 जून (हि.स.)। राज्यभरि नै अवैध बङ्गलादेशी नागरिकहरू विरूद्ध भइरहेको कारबाहीबीच शुक्रवार जलपाईगुड़ी जिल्लाको राजगञ्ज स्थित फाटापुकुर होल्डिङ्ग सेन्टरमा 26 जना संदिग्ध बङ्लादेशी नागरिकहरूलाई ल्याएर अस्थायी रूपमा राखियो जसमा 15 जना महिला, 7 जना बाल-बालिका तथा 4 जना पुरूष सामेल छन्।
जानकारी मुताविक यिनीहरू लगभग 3-4 वर्षअघि अवैध रूपमा भारतभित्र छिरेका थिए। सीमावर्ती क्षेत्रहरूबाट अवैध रूपमा प्रवेश गरेपछि यिनीहरू यहाँ रिक्शा चलाउने, पेन्टिङ्ग जस्ता स-साना कामहरू गर्दै आएका थिए। यस अन्तरालमा कतिपयको परिवार पनि यतै भयो, नानीहरू जन्मिए।
सूत्र अनुसार राज्यमा नयाँ निर्देश जारी भएपछि अवैध रूपमा बस्दै आइरहेका विदेशी नागरिकहरूलाई चिन्हित गरी उनीहरूलाई प्रत्येक जिल्लामा स्थापित होल्डिङ्ग सेन्टरमा राख्ने प्रक्रिया शुरू गरिएको छ। यसै क्रममा इस्लामपुर क्षेत्रबाट यिनीहरूलाई पनि बसको माध्यमबाट फाटापुकुर ल्याइयो।
फाटापुकुर होल्डिङ्ग सेन्टरलाई अस्थायी रूपमा पूर्ण रूपले सुरक्षित बनाइएको छ। सम्पूर्ण परिसरमा सीसीटीभी क्यामरा जड़ान गरिएको छ भने चारैतिर टिनको घेराबन्दी गरिएको छ। भित्र बस्ने, खाने एवं शौचालयको व्यवस्था पनि गरिएको छ।
सुरक्षालाई मध्यनजर गर्दै सेन्टरमा 24 घण्टै पुलिसकर्मी अनि सिभिक भोलन्टियरलाई तैनाथ गरिएको छ। प्रशासनको भनाइ छ, अग्रिम कानूनी प्रक्रिया पूरा नहुञ्जेलसम्म सबैलाई यही राखिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा