लङभ्यू चियाबारीको अनशन पुग्यो पचास दिन: श्रमिकहरुद्वारा ७२ घण्टे अनशनको घोषणा
Longview tea garden dharna


खरसाङ, 12 जून (हि.स.)। खरसाङको लङभ्यू चिया बगानका श्रमिकहरूले गरिरहेको रिले अनशन पचास दिन पुगेको छ। पचास दिन पुग्दा पनि समस्याको केही समाधान नभएपछि लङभ्यू चिया बगानका श्रमिकहरूले पीएफ, ग्रेच्युटी लगायत सम्पूर्ण बक्यौता रकमको भुक्तानीको माग गर्दै ७२ घण्टे अनशनको घोषणा गरेका छन्।

उल्लेखनीय छ, श्रमिकहरूले आफ्ना विभिन्न मागहरू सम्बोधन गर्न गत २१ अप्रेल, २०२६ देखि क्रमिक अनशन शुरु गरेका थिए। आज उक्त आन्दोलनको ५०औँ दिन पूरा भएको अवसरमा आज अनशन स्थलमा श्रमिक महाभेलाको आयोजना गरियो। भेलामा दार्जिलिङ पहाड, तराई र डुवर्स क्षेत्रका विभिन्न ट्रेड युनियन तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

महाभेलालाई हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक सङ्घका अध्यक्ष डीके गुरुङ, तराई सङ्ग्रामी चिया मजदुर युनियनका अविजित मजूमदार, नर्थ बंगाल टी प्लान्टेसन इम्प्लोइज युनियनका अविजित राय, सीआईटीयूका सचिन खाती, पश्चिम बंगाल चाय मजदुर समितिका क्रेसन उराँव, तराई डुवर्स चिया कमान मजदुर युनियनका भूपेन छेत्री, गोर्खाल्याण्ड एक्टिभिस्ट समूहका किशोर प्रधान तथा फासीवाद विरोधी मञ्चका शंकर पाललगायतले सम्बोधन गरेका थिए।

वक्ताहरूले उत्तर बंगालका चिया बगानहरूमा कार्यरत श्रमिकहरूले भोग्दै आएका समस्याप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आगामी दिनमा श्रमिकहरूको हक–अधिकार सुनिश्चित गर्न बृहत् आन्दोलनको रूपरेखा तयार गर्नुपर्नेमा जोड दिएका थिए। यस अवसरमा हिल प्लान्टेसन इम्प्लोइज युनियन, लङभ्यू युनिटका सचिव तनुजा लामा, अध्यक्ष बिन्दया थापा, उपाध्यक्ष कविता पाखरिन तथा सहसचिव चन्द्रकला छेत्री लगायतका श्रमिक प्रतिनिधिहरूले भोलि, १३ जून २०२६ देखि ७२ घण्टे अनशन शुरु गर्ने घोषणा गरे।

श्रमिकहरूले आरोप लगाएका छन्, बगान मालिक गोविन्द गर्गले सन् २०१३ देखि श्रमिकहरूको तलबबाट कटौती गरिएको १२ प्रतिशत पीएफ रकम सम्बन्धित खातामा जम्मा गरेका छैनन्। हाल उक्त रकम करिब १३ करोड रुपियाँ पुगेको छ। यसका अतिरिक्त, अवकाशप्राप्त श्रमिकहरूले कानुनबमोजिम पाउनुपर्ने ग्रेच्युटी रकम समेत प्राप्त गर्न सकेका छैनन्। श्रमिकहरूले काम गरेबापतको ज्याला तथा कर्मचारीहरूको तलबसमेत लामो समयदेखि भुक्तानी गरिएको छैन।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande