
दक्षिण दिनाजपुर, 12 जून (हि.स.)। गङ्गारामपुर क्षेत्रबाट एकजना 17 वर्षीय स्कूले छात्रा रहस्यमय ढङ्गमा बेपत्ता भएको मामिला प्रकाशमा आएको छ। घटना घटेको तीन सप्ताह बितिसक्दा पनि पुलिसले छात्राको कुनै सुइँको पाउन सकेको छैन जसले गर्दा परिवारमा चिन्ता अनि आक्रोश दुवै बढ़्दै गइरहेको छ।
सूत्र अनुसार गङ्गारामपुर ब्लक अन्तर्गत बसुरिया अञ्चलको लालचन्द्रपुर गाउँ निवासी मानिक रायकी छोरी जो स्थानीय सर्वमङ्गला हाई स्कूलको कक्षा बाह्रौंकी छात्रा हुन्, गत 17 मईको बिहान सदा जस्तै ट्यूसन पढ़्नको लागि घरबाट हिँड़ेकी थिई। तर अबेरसम्म पनि उ घर नफर्केको कारणले चिन्तित परिवारले वरपरका सबै सम्भावित ठाउँहरूमा खोजतलास गऱ्यो। तर कतै पत्तो लागेन। त्यसपछि 18 मईको दिन गङ्गारामपुर थानामा लिखित रूपमा हराएको रिपोर्ट दर्ता गरायो।
पुलिसले कुनै ठोस प्रगति गर्न नसकेको कारणले असन्तुष्ट परिवारले विश्व हिन्दू परिषदको महिला एकाई ‘दुर्गा वाहिनी’-सित मद्दत माग्यो। शुक्रवार दुर्गा वाहिनीका प्रतिनिधिहरू परिवारको साथमा गङ्गारामपुर थानामा पुगे अनि पुलिस अधिकारीहरूसित लामो बातचित गरे।
सङ्गठनको पक्षबाट माग गरियो, जाँचलाई तीव्र गतिमा अगाड़ि बढ़ाइयोस्, छात्रालाई चाँड़ोभन्दा चाँड़ो भेटियोस् अनि आरोपीलाई चन्हित गरी कड़ाकानूनी कारबाही गरियोस्। पुलिसको भनाइ छ, मामिलाको जाँच भइरहेको छ भने छात्रालाई खोज्नको लागि हरसम्भव गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा