तादोङ विद्यालयका सीबीएसई परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीहरू सम्मानित
सम्मानित विद्यार्थीहरू


गान्तोक, 12 जून (हि.स.)। राजधानीको तादोङले सरकारी वरिष्ठ माध्यमिक विद्यालयले शैक्षिक सत्र २०२५-२६ को सीबीएसई बोर्ड परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मानित गरेको छ। विद्यालयमा आज आयोजित एक कार्यक्रममा विद्यार्थीहरुलाई सम्मानित गरिएको जानकारी विद्यालयका पीजीटी नेपाली शिक्षक त्रिभुवन ढकालले दिएका छन्।

जानकारी अनुसार, विज्ञान विधामा ज्योति कुमारीले, ८९.६% अङ्क, वाणिज्य विधामा हिमेस ठकुरीले ८७.८% अङ्क, मानविकी विधामा स्मिता छेत्रीले ८६.६% अङ्क, सूचना प्रौद्योगिकीमा कृष्णा राईले ७५.५% अङ्क र खाद्य उत्पादनबाट पूजा दर्जीले ६९.६% अङ्कका साथ प्रथम स्थान प्राप्त गरेका छन्। कार्यक्रममा प्रधानाचार्या डा. सङ्गीता खड्का र सम्बन्धित कक्षा शिक्षकहरूको बहुलीद्वारा विद्यार्थीहरूलाई परम्परागत खादा र प्रशंसा पत्र प्रदान गरी सम्मानित गरियो। यसका साथै, शिक्षकहरूद्वारा प्रायोजित विभिन्न विषयगत पुरस्कारहरू पनि वितरण गरियो।

यस चरणमा लेप्चा भाषामा कुर्सोङमित लेप्चालाई प्रायोजक शिक्षिका तेन्जिङ डोल्मा लेप्चा, पीजीटी लेप्चा, भोटिया भाषामा निमा शेर्पालाई प्रायोजक शिक्षक शेराब होजर भोटिया, ज्योति कुमारीलाई हिन्दी भाषा र अङ्ग्रेजी भाषामा प्रायोजक शिक्षिका क्रमैले केसाङ डोमा भोटिया, पीजीटी हिन्दी र धना थापा, पीजीटी अंग्रेजीको करकमलद्वारा नगद राशि, स्मृति चिन्ह र प्रमाणपत्र प्रदान गरेर उक्त बहुमुखी प्रतिभा भएका विद्यार्थीहरूलाई सम्मान जनाइयो।

यसैगरी, डा. एचपी सुवेदी (पीजीटी जीव विज्ञान) द्वारा प्रायोजित नगद पुरस्कार दुईवटा सत्रका उत्कृष्ट विद्यार्थीहरूलाई क्रमैले सत्र २०२४-२५ का लागि सीता छेत्री र सत्र २०२५-२६ का लागि कादेन तामाङलाई अनि राजनैतिक विज्ञान विषयमा अभिषेक प्रसादलाई शिक्षिका डिकी डोमा भोटियाद्वारा नगद राशिले सम्मानित गरियो। साथै, वाणिज्य विधामा हिमेस ठकुरीलाई सामुहिक रुपमा वाणिज्य विषयका शिक्षकगणले सम्मान गरे।

कार्यक्रमको मुख्य आकर्षण प्रतिष्ठित १५औँ रघुनाथ-भीमेश्वरी ढकाल स्मृति पुरस्कार २०२६ को वितरण रह्यो। सन् २०१२ मा आफ्ना स्वर्गीय माता-पिताको स्मृतिमा त्रिभुवन ढकाल (पीजीटी नेपाली) द्वारा स्थापना गरिएको यो पुरस्कार हरेक वर्ष विद्यालयबाट नेपाली विषयमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई प्रदान गरिन्छ। यस वर्ष नेपाली विषयमा ९८ अङ्कको शानदार रेकर्ड राख्दै कादेन तामाङले यो प्रतिष्ठित पुरस्कार प्राप्त गरिन्। यस पुरस्कार अन्तर्गत रु १०,००० नगद, स्मृति चिन्ह र प्रमाणपत्रले सम्मानित गरेर भावी पीँडी विद्यार्थीगणलाई उत्प्रेरित गर्ने कार्य गरियो ।

प्रधानाचार्या डा. सङ्गीता खड़काले सम्पूर्ण सफल विद्यार्थी, उनीहरूका परिवार र शिक्षक वर्गलाई हार्दिक बधाई दिँदै विद्यार्थीहरूको उज्ज्वल भविष्य र उच्च शिक्षाको सफलताका लागि शुभकामना व्यक्त गरिन्। उनले विद्यार्थीहरूको यो सफलतामा शिक्षकहरूको निरन्तर मार्गदर्शन र अभिभावकहरूको सहयोगको ठूलो भूमिका रहेको बताइन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande