सीएपी सिक्किमद्वारा सामाजिक अभियन्ता तथा उद्यमी चन्द्रहाङ लिम्बूमाथि भएको आक्रमणको निन्दा
चन्द्रहाङ लिम्बू


गान्तोक, 12 जून (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले सोरेङ जिल्लाको थोङलिङ निवासी एक उदीयमान दुग्ध व्यवसायी तथा सामाजिक अभियन्ता चन्द्रहाङ लिम्बूमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ।

सीएपी सिक्किमका प्रवक्ता अल्बर्ट गुरुङले आज प्रेस विज्ञप्तिमा भने, प्राप्त जानकारी अनुसार, चन्द्रहाङ लिम्बूलाई उनको निवास नजिकै तीन जना मुखौटा लगाएका व्यक्तिहरूले आक्रमण गरेका थिए। आक्रमणकारीहरूले उनलाई गम्भीर रूपमा कुटपिट गरेपछि पुलबाट राङयाङ खोलामा फाल्ने प्रयाससमेत गरेका थिए। संयोगवश, त्यही समयमा एउटा सवारीसाधन घटनास्थलमा आइपुगेपछि आक्रमणकारीहरू भाग्न बाध्य भए, जसका कारण ठूलो दुर्घटना हुनबाट जोगियो। हाल चन्द्रहाङ लिम्बू अस्पतालमा उपचाररत रहेको र जीवनका लागि संघर्ष गरिरहेका छन्।उनले यो घटना कुनै एक्लो घटना होइन भन्दै वर्तमान एसकेएम सरकारको शासनकालमा सिक्किममा कानुन र व्यस्थाको अवस्था चिन्ताजनक रूपमा कमजोर बन्दै गएको आरोप लगाएका छन्। उनले सामाजिक मुद्दा उठाउने, व्यवस्थामाथि प्रश्न गर्ने वा जनहितका पक्षमा बोल्ने नागरिकहरू दिनप्रतिदिन धम्की र हिंसाको जोखिममा परिरहेको विज्ञप्तिमा उल्लेख गरेका छन्।

उनले सीएपी सिक्किमका धेरै सदस्य तथा नेताहरूले विगतमा धम्की र आक्रमणको सामना गरे तापनि सिक्किमका जनताले अर्थपूर्ण पक्राउ वा दोषीमाथिको कारबाहीका उदाहरण अत्यन्त कम देखेको बताएका छन्। यसले कानुन कार्यान्वयन निकायहरूको प्रभावकार र नागरिक सुरक्षाप्रति सरकारको प्रतिबद्धतामाथि गम्भीर प्रश्न उठाउँछ भनी उनले बताएका छन्।

उनले चन्द्रहाङ लिम्बूमाथिको आक्रमणलाई चिन्ताजनक बताउँदै उनी कुनै राजनीतिक व्यक्तित्वका रूपमा नभई एक युवा उद्यमी तथा सामाजिक अभियन्ताका रूपमा परिचित रहेको बताएका छन्। यदि सामाजिक मुद्दाहरू उठाउँदा सामान्य नागरिकमाथि यति खुलेआम आक्रमण हुन सक्छ भने यसले समाजलाई कस्तो सन्देश दिन्छ? भनी उनले प्रश्न गरेका छन्।

प्रवक्ता गुरुङले सोरेङ जिल्ला स्वयं मुख्यमन्त्रीको गृह जिल्ला रहेको र यदि त्यहाँ समेत नागरिकहरूले आफूलाई सुरक्षित महसुस गर्न सक्दैनन् भने सिक्किमका जनताले राज्यको कानुन-व्यवस्था संयन्त्रप्रति कसरी विश्वास गर्ने? भनेका छन्। उनले यस जघन्य अपराधमा संलग्न आक्रमणकारीहरूका साथै आक्रमणको योजना बनाउने र आर्थिक सहयोग गर्ने सबै व्यक्तिहरूलाई तत्काल पक्राउ गर्न माग गरेका छन्। साथै, पुलिस र सरकारले निष्पक्ष, पारदर्शी तथा समयसीमाभित्र अनुसन्धान गरी दोषी सबैलाई कानुनी कठघरामा ल्याउनुपर्ने पनि उनले माग गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande