
पाकिम, 16 जून (हि.स.)। पाकिमको जिल्ला प्रशासनिक केन्द्रको सम्मेलन हलमा जिल्ला अध्यक्ष लाडेन ल्ह्मु भोटियाको अध्यक्षतामा सोरेङमा आयोजना हुने आगामी 212औँ भानुजयन्ती समारोह 2026 (राष्ट्रियस्तरीय) लाई लिएर तयारी बैठक आयोजन गरिएको छ। बैठकमा पाकिमकी जिल्लापाल परी बिश्नोई र वरिष्ठ पुलिस अधीक्षक पारु रुचालको उपस्थिति रहेको थियो।
बैठकमा समारोहको तयारी समन्वय गर्न र जिल्लाको प्रतिनिधि समूहको छनोटका लागि निर्वाचन क्षेत्रस्तरीय र जिल्लास्तरीय रामायण पाठ प्रतियोगिता सञ्चालनलाई लिएर आवश्यक व्यवस्थामाथि छलफल गर्न केन्द्रित रहेको थियो।
यस अवसरमा जिल्ला अध्यक्ष लाडेन ल्हमु भोटियाले नेपाली भाषा र संस्कृति मनाउने र प्रवर्द्धन गर्ने अवसरको रूपमा भानुजयन्तीको महत्त्वमाथि प्रकाश पारिन्। उनले सबै सहभागीलाई सक्रिय रूपमा भाग लिन र कार्यक्रमको सफलतामा योगदान दिन आग्रह गरिन्।
यसका साथै जिल्लापाल बिश्नोईले पञ्जीकरण प्रक्रिया, नियम र शर्तलगायत अन्य आवश्यकताबारे जानकारी प्रसारसहित प्रतियोगिताको व्यापक जागरूकता र प्रचारको आवश्यकतामा जोड़ दिइन्। उनले निर्वाचन क्षेत्रस्तर र जिल्ला स्तरका प्रतियोगिताहरूको सहज सञ्चालन सुनिश्चित गर्न सबै हितधारकबीच समन्वयित प्रयासहरूको महत्त्वमा जोड़ दिइन्।
आफ्नो सम्बोधनमा पाकिम जिल्लाका लागि मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव विशाल शर्माले राष्ट्रियस्तरको भानुजयन्ती उत्सवको तयारीबारे सदनलाई जानकारी गराए। उनले प्रत्येक जिल्लाले राष्ट्रियस्तरको कार्यक्रममा भाग लिन एक रामायण पाठ समूहलाई मनोनयन गर्नु आवश्यक रहेको बताए।
छनोट प्रक्रियालाई सहज बनाउन पाकिम जिल्लाका पाँच निर्वाचन क्षेत्रमा प्रारम्भिक रामायण पथ प्रतियोगिता आयोजना गरिनेछ, जसबाट प्रत्येक निर्वाचन क्षेत्रबाट एक समूह छनोट गरिनेछ।
छनोट भएका पाँचवटा समूहले पछि जिल्लास्तरीय प्रतियोगितामा भाग लिनेछन् र विजेता समूहले 9 जुलाईमा सोरेङमा पाकिम जिल्लाको प्रतिनिधित्व गर्नेछन्। त्यसपछि, छनोट गरिएको समूहले 13 जुलाईमा मुख्य उत्सवको समयमा प्रस्तुति दिनेछन्।
अतिरिक्त राजनीतिक सचिवले प्रतियोगिताको सहज सञ्चालनका लागि जिल्लास्तरीय र निर्वाचन क्षेत्रस्तरीय समिति गठन गर्नुपर्ने आवश्यकताबारे थप जानकारी गराए। उनले समितिहरूको भूमिका र जिम्मेवारीहरू उल्लेख गरे र प्रतियोगिताका लागि नियम र शर्तबारे सदस्यहरूलाई जानकारी गराए।
प्रतियोगितामा उमेर वा लिङ्गमा छेकबार नरहेको र सबै व्यक्तिका लागि खुल्ला रहने जानकारी गराइयो। स्कूल र कलेजका विद्यार्थी साथै सर्वसाधारण पनि भाग लिन योग्य हुनेछन्।
सहभागीहरूले भानुभक्त रामायणको ‘सुन्दर काण्ड’ वा ‘युद्ध काण्ड’ बाट पाठ प्रस्तुत गर्नुपर्नेछ।
प्रतियोगिताका विजेताले नगद एक लाख रुपियाँ प्राप्त गर्नेछन्। पहिलो उपविजेताले 80 हजार र दोस्रो उपविजेताले नगद 60 हजार प्राप्त गर्नेछन्।
प्रदर्शनहरूको मूल्याङ्कन विभिन्न मापदण्डहरूमा गरिनेछ जसको पूर्ण अङ्क 100 रहेको छ। बैठकले स्थान, यातायात, जलपान, प्रचार, निर्णायक व्यवस्था, खर्च, र प्रतियोगिता तालिका सहितको रसद र प्रशासनिक व्यवस्थाहरूमा पनि छलफल गरेको थियो।
प्रतियोगिताका विभिन्न पक्ष र सम्बन्धित व्यवस्थाबारे सदस्यहरूले उठाएका सुझाउ र चिन्ताहरू बैठकमा विस्तृत रूपमा छलफल गरिएको थियो।
बैठकमा प्रतियोगिता सञ्चालनका लागि जिल्लास्तरीय समिति गठन गरिएको थियो। जिल्लास्तरीय रामायण पथ प्रतियोगिता 29 जूनमा पाकिमको सामुदायिक हलमा आयोजना गर्ने निर्णय पनि गरिएको थियो। निर्वाचन क्षेत्रस्तरीय प्रतियोगिताको तालिका र सम्बन्धित तयारी गतिविधिबारे पनि छलफल गरिएको थियो।
बैठकमा अतिरिक्त जिल्लापाल (मुख्यालय) सवीन्द्र राई, अतिरिक्त जिल्लापाल (मुख्यालय) थेन्डुप लेप्चा, महकुमा अधिकारी एनके भण्डारीसहित अन्य उपस्थित रहेका थिए।
---------------
हिन्दुस्थान समाचार / बिशाल