सामाजिक सुरक्षा कभरेजलाई सुदृढ़ पार्न र कर्मचारी कल्याणलाई प्रवर्द्धन गर्न जोड
केन्द्रिय श्रम तथा रोजगार राज्यमन्त्री शोभा करन्दलाजे


गान्तोक, 16 जून (हि.स.)। कर्मचारी भविष्य निधि सङ्गठन (ईपीएफओ) द्वारा मङ्गलवार गान्तोकमा केन्द्रिय श्रम तथा रोजगार राज्यमन्त्री शोभा करन्दलाजेको उपस्थितिमा आयोजित कार्यक्रममा सामाजिक सुरक्षा कभरेजलाई सुदृढ़ पार्ने र कर्मचारी कल्याणलाई प्रवर्द्धन गर्ने भारत सरकारको प्रतिबद्धतामाथि रेखाङ्कित गरियो।

कार्यक्रममा क्षेत्रीय भविष्य निधि आयुक्त केसाङ तेञ्जिङ, वाणिज्य तथा उद्योग विभागकी सचिव कर्मा डी युत्सो, श्रम विभागका सचिव भीम ठटाल, विभिन्न विभागका अधिकारीगण, ईपीएफओका प्रतिनिधि र प्रेस सदस्यहरूको उपस्थिति रहेको थियो।

आयोजकहरूले कामदार र सेवानिवृत्तहरूका लागि सामाजिक सुरक्षा लाभ र पेन्शन सेवाहरूमा समयमै पहुँच सुनिश्चित गर्ने महत्त्वमा जोड़ दिए। यस अवसरमा सिक्किम डिस्टिलरीज लिमिटेडका दुई कर्मचारी पदम बहादुर प्रधान र अमृता छेत्रीलाई क्रमशः 33 र 39 वर्षको विशिष्ट करियरपछि अवकाश हुन लागेकोमा सम्मान जनाइयो। मन्त्रीले प्रयास योजनाअन्तर्गत उनीहरूलाई पेन्शन भुक्तानी आदेश (पीपीओ) हस्तान्तरण गरिन्, जसले उनीहरूलाई सेवानिवृत्त भएपछि तुरुन्तै निर्बाध रूपमा पेन्शन लाभहरू प्राप्त गर्न सक्षम बनाउनेछ।

केन्द्रिय राज्यमन्त्रीले क्षेत्रभरिका सूक्ष्म, लघु र मध्यम उद्यमहरूलाई सहयोग गर्ने कार्यालयले गरेका उपलब्धि र पहलहरूलाई प्रकाश पार्दै गान्तोकस्थित एमएसएमई विकास तथा सहजीकरण कार्यालय (डीएफओ) को वार्षिक सफलता प्रतिवेदन पनि सार्वजनिक गरिन्।

यसअघि, क्षेत्रीय भविष्य निधि आयुक्त केसाङ तेञ्जिङ र गान्तोकस्थित एमएसएमई-डीएफओका सहायक निर्देशक राहुल काम्बलेले केन्द्रिय राज्यमन्त्रीलाई स्मृति-चिह्न प्रदान गरे। यस अवसरमा वार्षिक सफलता प्रतिवेदन पुस्तिका पनि प्रस्तुत गरियो।

पर्यावरणीय संरक्षण र दिगोपनलाई प्रवर्द्धन गर्ने प्रतीकात्मक अभिव्यक्तिमा मन्त्रीले वाणिज्य तथा उद्योग तथा श्रम विभागका सचिवहरूसँग मिलेर ईपीएफओको परिसरमा बिरुवा रोपिन्।

क्षेत्रीय भविष्य निधि आयुक्त केसाङ तेञ्जिङको धन्यवाद ज्ञापनसँग कार्यक्रममा समाप्त भयो। उनले प्रयास योजनाको सफलताको संक्षिप्त रूपरेखा प्रस्तुत गरे।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande