
कुचबिहार, 16 जून (हि. स.)। जिल्लाको दिनहाटास्थित भेटागुड़ी दुई नम्बर क्षेत्रको साकदल गाउँमा तृणमूल कङ्ग्रेसका नेताको घरमा गए अबेर राती भएको हमलाको घटनापछि क्षेत्रमा सन्त्राष व्याप्त भएको छ। घटनाको सूचना पाउनसाथ स्थानीय पुलिसले घटनास्थलमा पुगेर जाँच शुरू गऱ्यो। तृणमूल कङ्ग्रेस नेता आइनुल मियाँले मङ्गलवार आरोप लगाए, अबेर राति केही उपद्रवीहरूले उनीहरूको घरमा अचानक धावा बोले।
आरोप अनुसार आक्रमणकारीहरूले घरका चारै वटा कोठामा पसेर सामानहरू तोड़फोड़ गर्नका साथै मूल्यवान वस्तुहरू लुटेर लगे। यी वस्तुहरूमा सुनको गहना, पानीको मशिन र स्ट्याफ्ड फ्यान सामेल छन्।
नेताको दाबी छ, चुनाउ परिणाम घोषणा भएदेखि नै उनको घरमा लगातार हमला भइरहेको छ। बितेका चार दिनभित्रमा कैयौं पटक यस्ता घटनाहरू भइसकेका छन्। यसअघि उनको दुई चक्के वाहन लुटियो।
उनले भने, यी घटनाहरूले वर्ष 2021- को चुनाउपछि भएका हिंसाहरूलाई आलो बनाइरहेका छन्। तृणमूल नेताले यस हमलाको पछाड़ि भाजपा समर्थित उपद्रवीहरूको हात रहेको आरोप लगाएका छन्। तथापि यस मामिलामा भाजपाको पक्षबाट यो समाचार लेखुञ्जेलसम्म कुनै प्रतिक्रिया आएको थिएन। हाल पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा