
पाकिम, 16 जून (हि.स.)। भारत निर्वाचन आयोग (ईसीआई) द्वारा सञ्चालन गरिएको विशेष गहन पुनरीक्षण (एसआईआर) 2026 अभ्यासअन्तर्गत पाकिम जिल्लाले 98 प्रतिशत गणना फाराम (ईएफ)-को वितरण कार्य पार गर्दै उल्लेखनीय प्रगति रेकर्ड गरेको छ। आज जारी गरिएको स्थिति प्रतिवेदनअनुसार ईएफ वितरण अभ्यास अब पूरा हुने क्रममा छ।
जिल्लाको तथ्याङ्कले 83,111 मतदातामध्ये 82,108 गणना फाराम वितरण गरिएको दर्शाएको छ भने कुल 22,201 फाराम डिजिटलीकरण गरिएको छ, जुन प्रक्रियाको 26.71 प्रतिशत हो।
यो अभ्यास 109 बुथस्तरीय अधिकारीद्वारा सञ्चालन गरिँदैछ, जसमध्ये 77 जनाले तालिम पूरा गरिसकेका छन्। आफ्नो क्षेत्र भ्रमणको क्रममा बीएलओहरू मतदाताहरूसँग प्रत्यक्ष रूपमा संलग्न भइरहेका छन् र नाम, आवासीय ठेगाना, फोटो र मतदाता फोटो परिचयपत्र (ईपिक) नम्बरसहित प्रमुख विवरणहरूको समीक्षा र अद्यावधिक गर्न मद्दत गरिरहेका छन्।
विधानसभा निर्वाचन क्षेत्रअन्तर्गत छुजाचेनमा 99.81 प्रतिशत ईएफ वितरण र 36.72 प्रतिशत डिजिटलीकरण कार्य सम्पन्न गरिएको छ। पश्चिम पाण्डममा 99.27 प्रतिशत, रिनाकमा 98.69 प्रतिशत, नाथाङ-माछोङमा 98.58 प्रतिशत, नाम्चेबुङमा 97.48 प्रतिशत ईएफ वितरण गरेको छ।
निर्धारित तालिकाअनुसार घरदैलो प्रमाणीकरण अभियान 28 जून, 2026 सम्म जारी रहनेछ। यस अवधिमा, बीएलओहरूले मतदाता जानकारीको विस्तृत प्रमाणीकरण गर्दै गणना फारमहरूको वितरण र सङ्कलन दुवै गर्नेछन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल