
कोलकाता, 18 जून (हि.स.)। पश्चिम बङ्गालमा केन्द्रिय सुरक्षा बलहरूको तैनाथीमा ठूलो कटौती गरिएको छ। राज्य विधानसभा चुनाउ-2026 लाई मध्यनजर गर्दै तैनाथ गरिएको केन्द्रिय बलहरूको सङ्ख्या जुन चुनाउपछि पनि कानून व्यवस्थालाई कायम राख्नको लागि 500 कम्पनी थियो, अब त्यसलाई घटाएर 150 कम्पनी बनाइएको छ।
सूत्र अनुसार वर्तमान समयमा राज्यमा व्याप्त शान्ति एवं सामान्य कानून व्यवस्थाको स्थितिलाई मध्यनजर गर्दै यो निर्णय लिइएको हो। मुख्यमन्त्री शुभेन्दु अधिकारीको सरकारले कानून-व्यवस्थालाई कायम राख्नको लागि राज्य पुलिस अनि प्रशासनलाई पूर्ण स्वतन्त्रता दिएको छ। यसैलाई ध्यानमा राखेर केन्द्रिय बलहरूको सङ्ख्यालाई घटाउने फसेला लिइएको छ।
विधानसभा चुनाउको परिणाम घोषणा भएपछि राज्य सचिवालय नवान्न सहित विभिन्न संवेदनशील स्थानहरूमा केन्द्रिय बलहरूलाई तैनाथ गरिएको थियो। त्यसताक सरकारी दस्तावेज तथा अखिलेखहरूको सुरक्षा सुनिश्चित गर्नको लागि विशेष निगरानी राख्ने निर्देश पनि दिइएको थियो। त्यसपछिदेखि नवान्नको सुरक्षा गर्ने दायित्व पनि केन्द्रिय बलका जवानहरूसितै थियो।
नवान्नमा प्रवेश अनि निकास अवधि कर्मचारीहरूको पहिचान पत्रको जाँच एवं ब्यागहरूको खोजी पनि केन्द्रिय बलहरूद्वारा नै गरिन्थ्यो। तथापि बुधवारदेखि नवान्न बाहिर तैनाथ केन्द्रिय बलहरूलाई हटाइएको छ। प्रशासनिक सूत्रको भनाइ छ, सुरक्षा व्यवस्थाको नयाँ ढाँचा पहिला नै तय गरिसकिएको छ।
उल्लेखनीय छ, यसै वर्ष 2026-मा सम्पन्न पश्चिम बङ्गाल विधानसभा चुनाउलाई ध्यानमा राखेर सुरक्षाको अभूतपूर्व व्यवस्था गरिएको थियो। राज्यमा 2,047 कम्पनी केन्द्रिय बलहरूलाई तैनाथ गरिएको थियो। चुनाउ पनि शान्तिपूर्ण तथा लगभग पूर्ण रूपले हिंसामुक्त रह्यो। चुनाउपछि पनि सम्भावित अशान्तिलाई रोक्नको लागि 500 कम्पनी केन्द्रिय बलहरूलाई राज्यमा तैनाथ गरिएको थियो भने अब यसलाई घटाएर 150 बनाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा