
नयाँ दिल्ली, 18 जून (हि.स.)। देशभरि नै आगामी 21 जूनको दिन आयोजना भइरहेको राष्ट्रिय पात्रता सह प्रवेश परीक्षा (नीट) को पुनर्परीक्षालाई मध्यनजर गर्दै दिल्ली सरकारले सबै परीक्षा केन्द्रहरू बाहिर कुलिङ्ग जोन बनाउनेछ।
मुख्यमन्त्री रेखा गुप्ताले एक बयानमा बताइन्, दिल्लीमा नीट परीक्षाको लागि 97 वटा केन्द्रहरू स्थापना गरिएको छ, जसमा 69 वटा सरकारी विद्यालयहरूमा र 28 वटा केन्द्रिय विद्यालयहरूमा रहेका छन्। यी परीक्षा केन्द्रहरूको वरिपरी जिल्ला प्रशासनद्वारा विशेष कुलिङ जोन स्थापना गरिँदैछ, जहाँ अभिभावक तथा आफन्तहरू बस्ने, विश्राम गर्ने तथा गर्मीबाट राहत पाउने समुचित व्यवस्था रहनेछ। उनले भनिन्, हरेक वर्ष लाखौं परिवारहरू आफ्ना छोरा-छोरीहरूको भविष्यको सपना बोकेर परीक्षा केन्द्रहरूमा आउँछन्। परीक्षार्थीहरू त भित्र परीक्षा दिइरहेका हुन्छन्, तर बाहिर कैयौं घणटासम्म प्रतिक्षा गरिरहेका आमा-बुबाको चिन्ता, चर्को घाम तथा असुविधामाथि प्राय कसैको ध्यान पुग्दैन। दिल्ली सरकारले यस मानवीय पक्षलाई बुझेर यो निर्णय लिएको छ कि परीक्षाको दिन अभिभावकहरूलाई असुविधाको सामना गर्न नपरोस्।
उनले भनिन्, अहिलेसम्म के देखिँदै आएको छ भने परीक्षा अवधि परिवारका सदस्यहरू कुनै रूखमुनि, पार्कमा बसेर समय बिताउँथे भने कहिले वरपरका बजारहरूमा भौंतारेर समय व्यतित गर्थे। कतिपयलाई चर्को घाममा घण्टौंसम्म उभिनुपर्थ्यो। अब यस्तो स्थिति हुनेछैन। परीक्षा केन्द्रहरूको बाहिर नै उनीहरूको लागि आरामदायक प्रतीक्षा व्यवस्था उपलब्ध हुनेछ।
मुख्यमन्त्रीले बताइन्, दिल्ली सरकार परीक्षा केन्द्रहरूसम्म मात्र सीमित छैन, प्रचण्ड गर्मीबाट मानिसहरूलाई राहत पुऱ्याउनको लागि पहिलाभन्दा व्यापक प्रबन्ध गरिरहेको छ। यसान्तर्गत राजधानीका विभिन्न क्षेत्रहरूमा 85 वटा शेड स्थापना गरिएको छ, 15 वटा कुलिङ्ग जोन सञ्चालनमा छन् तथा 13 वटा मोबाइल राहत भ्यानले लगातार विभिन्न क्षेत्रहरूमा भ्रमण गरी मानिसहरूलाई गर्मीबाट राहत पुऱ्याइरहेका छन्। नीट परीक्षाको अवधिभरि अभिभावकहरूको लागि गरिएको विशेष व्यवस्था पनि यसै जनकल्याणकारी औ संवेदनशील सोचको विस्तार हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा