
खरसाङ, 23 जून (हि.स.)। बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेले पहाड तराई डुवर्सको स्थायी राजनीतिक समाधान हुन लागेको बेलामा सबैजना एकबद्ध हुनुपर्ने आह्वान् गरेका छन्। उनले जीटीए व्यवस्थाबाट राजीनामा नदिई बसेका सभासदहरुलाई जीटीए छाडेर जातिको लागि एकबद्ध हुनुपर्ने पनि आह्वान् गरेका छन्।
उनले केवल बेस्ट अफ् द बेस्ट भनेर बस्नु नहुने, तर सबैजना एक हुनुपर्ने बताएका छन्। उनले अब पनि मानिसहरु झुक्किनु हुँदैन र स्थायी राजनीतिक समाधानको लागि बाधा बन्नु हुँदैन भनी बताए।
रिम्पोर्छेले आज जारी एउटा भिडियोमा भने, 'अब पनि जीटीए व्यवस्था चलाएर हुँदैन। जीटीएबाट सबैले राजीनामा दिनुपर्छ। हाम्रो असली माग भनेको गोर्खाल्याण्ड हो, जीटीए तीन वा बीटीआर होइन। स्थायी राजनीतिक समाधान हुन लागेको बेला कुनै पनि व्यवस्थामा जानु हुँदैन। हाम्रो एक मात्र माग गोर्खाल्याण्ड हो।'
हिन्दुस्थान समाचार / हनोक