
खरसाङ, 23 जून (हि.स.)। इण्डियन डेमोक्रेटिक रिपब्लिकन पार्टीले गोर्खाहरुको स्थायी राजनीतिक समाधानको लागि केन्द्र सरकारले नियुक्त गरेको इन्टरलोक्युटरसित भेट गरेको छ। पार्टीको तर्फबाट राष्ट्रिय महासचिव डोनाल्ड गहतराज र दिल्ली प्रदेश अध्यक्ष आदेशजी कुमारले इन्टरलोक्युटर पंकजकुमार सिंहसित दिल्लीमा भेट गरेको बताइएको छ।
यस भेटमा इण्डियन डेमोक्रेटिक रिपब्लिकन पार्टीले इन्टरलोक्युटर समक्ष गोर्खाल्याण्डको माग राखेको जानकारी प्राप्त भएको छ। महासचिव डोनाल्ड गहतराजले इन्टरलोक्युटर समक्ष पहाड तराई डुवर्सको स्थायी राजनीतिक समाधानको रूपमा गोर्खाल्याण्ड हुनुपर्छ भनी माग राखे। इन्टरलोक्युटरसित भेटघाट गरेपछि एउटा भिडियो जारी गर्दै महासचिव गहतराजले गोर्खाहरुको सय वर्ष पुरानो माग गोर्खाल्याण्डको माग राखेको बताएका छन्।
उनले पहाड तराई र डुवर्सका लागि स्थायी राजनैतिक समाधान हुन लागेको समय सबैजना एकबद्ध हुनुपर्छ भनी आह्वान् पनि गरेका छन्। उनले अब हुने स्थायी राजनीतिक समाधानमार्फत् हुने नयाँ व्यवस्थामा दार्जिलिङ पहाड साथै तराई डुवर्सबाट पनि प्रतिनिधिहरु दिनु पर्ने माग राखेका छन्।
उनले भने, 'हाम्रो मुख्य मुद्दा भनेको गोर्खाल्याण्ड हो।पार्टीले इन्टरलोक्युटर पंकजकुमार सिंहसित भेट गरेर गोर्खाहरुको सय वर्षभन्दा पुरानो माग गोर्खाल्याण्ड हो भनी जानकारी गराएका छौँ। अब गोर्खाहरुका लागि स्थायी राजनीतिक समाधान आवश्य हुनपर्छ र यसमा हामी सबै एकबद्ध भएर अघि बढ्नुपर्छ।'
हिन्दुस्थान समाचार / हनोक