
मेदिनीपुर, 18 जून (हि.स.)। पश्चिम बङ्गालको दीघामा अवस्थित जगन्नाथ मन्दिरलाई लिएर सृजित विवादले साम्य हुने नाम लिएको छैन। ‘धाम’ शब्दलाई हटाउने विवादपछि अब जगन्नाथ मन्दिर पुरी प्रशासनले एउटा नयाँ आपत्ति दर्ता गरेको छ।
पुरी मन्दिरका सेवक तथा अधिकारीहरूले माग गरेका छन्, दिघा मन्दिरमा स्थापित ढुङ्गाका मूर्तिहरूलाई हटाएर त्यसको स्थानमा काठद्वारा निर्मित ‘दारुब्रह्म’ प्रतिमाहरू स्थापित गरियोस्। उनीहरूको भनाइ छ, भगवान जगन्नाथको पूजा दुनियाँको कुनै पनि कुनामा भए पनि त्यसलाई पुरी मन्दिरको पारम्परिक रीति-नीति अनुसार नै गरिनुपर्छ।
जानकारी अनुसार पूर्ववर्ती ममता ब्यानर्जी सरकारद्वारा निर्मित जगन्नाथ मन्दिरको नामसित ‘धाम’ शब्द जोड़िएको थियो जसमाथि ओडिशा सरकार र पुरी मन्दिर प्रशासनले आपत्ति जनाएको थियो। हालैमा राज्यको नवगठित भाजपा सरकारले मन्दिरको नामबाट धाम शब्दलाई हटाउने घोषणा गरेको थियो।
अब पुरी मन्दिरसित जोड़िएका सेवायतहरूको भनाइ छ, शास्त्र अनुसार भगवान जगन्नाथको प्रतिमा ढुङ्गाको होइन, काठको हुनुपर्छ। यसबाट परम्परा र धार्मिक पवित्रता अक्षुण्ण रहनेछ। उनीहरूको भनाइ यो पनि छ, यदि रथयात्रा निकालियो भने त्यसमा काठको प्रतिमालाई मात्र स्थापित गरिनुपर्छ।
तथापि पुरी मन्दिरका मुख्य सेवायत स्वेन महापात्रले भनेका छन्, मन्दिरभित्र ढुङ्गाको प्रतिमाको पूजा गर्नमा कुनै आपत्ति छैन, तर यस्तो प्रतिमालाई रथमा चढ़ाउन सकिँदैन।
अर्कोतिर गए बुधवार साँझ दिघा मन्दिरका सेवायत गौरहरि प्रधानले पनि भने, परम्परागत रूपमा भगवान जगन्नाथको प्रतिमा काठकै बनाइन्छ र पुरी मन्दिरको परम्पराको पालन अन्य जगन्नाथ मन्दिरहरूमा पनि हुनुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा