
खरसाङ, 18 जून (हि.स.)। पीएफको १२ करोड़ रुपियाँ, ग्रेच्युटीको ८४ लाख रुपियाँ, एलटीएको २० लाख रुपियाँ तथा ज्याला-वेतनलगायतका बाँकी रकम भुक्तानीको माग गर्दै खरसाङको लङभ्यू चिया बगानका श्रमिकहरू आन्दोलनरत छन्।
यस क्रममा विगत ५५ दिनसम्म श्रमिकहरूले क्रमिक अनशन गरेका थिए। तर, मालिक गोविन्द गर्ग र सम्बन्धित श्रम विभागबाट कथित सकारात्मक पहल नभएपछि आन्दोलनलाई थप प्रभावकारी बनाउने उद्देश्यले गत १३ जूनदेखि ७२ घण्टे अनशन शुरु गरिएको छ। पहिलो चरणको अनशन सम्पन्न भएपछि हाल लङभ्यूको साई मन्दिर परिसरमा दोस्रो चरणको ७२ घण्टे अनशन जारी रहेको छ।
दोस्रो चरणको ७२ घण्टे अनशनले आज ५३ घण्टा पूरा गरेको छ। अनशनकारीहरू लविन विश्वकर्मा, तनुजा लामा र अनुपा तामाङको स्वास्थ्य अवस्थामा समस्या देखिन थालेको छ। उनीहरूमा रिङ्गटा लाग्ने, वान्ता हुने, ज्वरो आउने, टाउको दुख्ने तथा रक्तचाप कम हुने समस्या देखिन थालेका छन्। स्वास्थ्यकर्मीहरूले अनशनकारीहरूको नियमित स्वास्थ्य परीक्षण गर्दै आवश्यक उपचार तथा निगरानी गरिरहेका छन्।
आन्दोलनकारीहरूले अनशन जारी राख्दै आफ्ना जायज मागहरू शीघ्र सम्बोधन गरियोस् भनी सम्बन्धित पक्षसँग पुनः आग्रह गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक