
सिलगढ़ी, 19 जून (हि.स.) । उत्तर बङ्गालका हिमाली एवं मैदानी क्षेत्रमा गए बिहीवार राती परेको मुसलधारे पानीले व्यापक नोक्सान पुऱ्याएको छ। भारी वर्षाको कारणले बालासन नदीको जलस्तर तीव्र गतिमा बढ़ेपछि दुधिया क्षेत्रमा निर्मित अस्थायी ह्यूम पाइप पुल क्षतिग्रस्त भयो फलस्वरूप सिलगढ़ी र मिरिकबीच सोझो सड़क सम्पर्क हाल बन्द भएको छ।
मौसम विभाग अनुसार लगभग अढ़ाई घण्टासम्म मुसलधारे पानी पऱ्यो। मिरिकमा 63 मिमी, खरसाङमा 113 मिमी तथा सिलगढ़ीमा 246 मिमी वर्षा दर्ता गरिएको छ जसले गर्दा महानन्द नदी सहित धेरैवटा नदीहरूको जलस्तर खतराको चिन्ह छेउमा पुगेको छ।
स्थानीय प्रशासनले बतायो, नदीको प्रवाह कम भएपछि दुधिया डायभर्जन मार्गको मरम्मत कार्य शुरू गरिनेछ। तबसम्मका लागि मिरिक तथा वरिपरीका क्षेत्रहरूका मानिसहरूलाई सिलगढ़ी आउन-जानका लागि घुमाउरो बाटो भएर गुज्रिनु पर्नेछ।
उल्लेखनीय छ, पछिल्लो वर्ष पनि घना वर्षा तथा पैह्रोको कारणले दुधियाको पुरानो पुललाई पानीले बगाएको थियो। त्यसपछि पश्चिम बङ्गाल सरकारले अस्थायी ह्यम पाइपको पुल निर्माण गरेको थियो भने स्थायी पुलको निर्माण कार्य भइरहेको छ जुन आगामी वर्षसम्ममा पूरा हुने सम्भावना छ।
प्रशासनले मानिसहरूलाई नदी किनार तथा पैह्रो सम्भावित क्षेत्रहरूदेखि टाड़ा बस्ने सल्लाह दिएको छ। मौसम विभागले उत्तर बङ्गालका केही जिल्लाहरूमा आगामी केही दिनसम्म घना वर्षा हुने सम्भावना व्यक्त गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा