राजनीतिक गतिविधिबारे गोरामुमो सोनादा टाउन कमिटीको सांगठनिक सभा सम्पन्न
gnlf meeting


सोनादा, 19 जून (हि.स.)। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सोनादा टाउन कमिटीले शुक्रवार पहाडको समसामयिक राजनीतिक अवस्थाबारे विस्तृत छलफल गरेको छ। बैठकमा टाउन कमिटीका अध्यक्ष रुस्तम छेत्री, सचिव शुद्ध तामाङ, बिजय राई, जितेन तामाङ, सागर तामाङ अनि सोनादा पचेङ्ग समिति अध्यक्ष भुपेन गुरुङ उपस्थित रहेका थिए।

बैठकमा विशेषगरी भागोप्रमो अध्यक्ष अनित थापाले गोर्खा जातिको भावना र राजनीतिक आकांक्षालाई ध्यानमा राख्दै गोर्खाको राजनीतिक सुनिश्चिततामा बाधक मानिएको गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए) का प्रमुख कार्यपाल तथा सभासद पदबाट राजीनामा दिएको विषयमा चर्चा गरियो। गोरामुमो सोनादा टाउन कमिटीले उक्त निर्णयलाई स्वागत गर्दै यसलाई जनभावनाको सम्मानस्वरूप लिएको जनाएको छ।

छलफलका क्रममा वक्ताहरूले जीटीए असंवैधानिक व्यवस्था हो, यसमार्फत गोर्खा जातिको राजनीतिक आकांक्षालाई नियन्त्रण गर्ने प्रयास भइरहेको आरोप लगाए। जीटीएको अस्तित्व समाप्त गरी दार्जिलिङ पहाड, तराई र डुवर्सका जनताको दीर्घकालीन राजनीतिक समस्याको स्थायी समाधानतर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

बैठकले जीटीएमा निर्वाचित अन्य सभासदहरूले पनि राजनीतिक नैतिकताको आधारमा आफ्नो पदबाट राजीनामा दिई एकजुट भएर जीटीए विसर्जनको प्रक्रियालाई अघि बढाउन सरकारसमक्ष दबाउ सिर्जना गर्नुपर्ने धारणा व्यक्त गरे। यसैबीच, बैठकले विगत दुई दशकदेखि गोर्खा समुदायले भारतीय जनता पार्टी (भाजपा) लाई दिएको विश्वास र राजनीतिक सहयोगको स्मरण गर्दै अब केन्द्र तथा राज्यमा रहेको डबल इन्जिन सरकारबाट गोर्खा समुदायको दीर्घकालीन संवैधानिक तथा राजनीतिक मागको ठोस र मूर्त समाधान अपेक्षा गरिएको जनाएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande