सांसद सुब्बाको रेलमन्त्री अश्विनी वैष्णवसँग भेट, सिक्किमका प्रमुख रेल परियोजनाहरूको प्रगतिलाई तीव्र बनाउन आग्रह गरे
सांसद सुब्बाले रेल मन्त्री अश्विनी वैष्णवसंग भेट


गान्तोक, 19 जून (हि.स.)। सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले बिहिबार साँझ नयाँ दिल्लीस्थित रेल भवनमा केन्द्रिय रेलमन्त्री अश्विनी वैष्णवसँग भेट गरे। यस अवसरमा उनले राज्यमा सञ्चालनमा रहेका तथा प्रस्तावित रेल परियोजनाहरूको अवस्थाबारे छलफल गरे। उक्त जानकारी आज जारी एक प्रेस विज्ञप्तिमा दिइएको छ।

सांसद सुब्बाले सिक्किममा रेल सञ्जाल विस्तारका लागि भारत सरकार तथा रेल मन्त्रालयले गरिरहेको निरन्तर प्रयासप्रति आभार व्यक्त गरे। उनले राज्यमा अघि बढाइएका रेल परियोजनाहरू ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यसले आर्थिक विकास, पर्यटन, व्यापार तथा क्षेत्रीय सम्पर्क विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

सांसद सुब्बाले प्रस्तावित रम्फू-रानीपुल रेल परियोजनाको महत्वबारे चर्चा गर्दै यसको कार्यान्वयन प्रक्रियालाई तीव्र गतिमा अघि बढाउन रेलमन्त्रीसँग अनुरोध गरे। उनले रम्फूभन्दा अगाडि रानीपुलसम्म रेल सेवा विस्तार हुँदा राज्यको राजधानी क्षेत्र नजिकसम्म रेल पहुँच पुग्ने र सिक्किमको यातायात पूर्वाधार अझ सुदृढ़ हुने बताए।

यसैगरी उनले प्रस्तावित मल्ली-देन्ताम रेलमार्गको अन्तिम स्थान सर्वेक्षण (एफएलएस) यथाशीघ्र सम्पन्न गराउन पनि आग्रह गरे। उनका अनुसार, उक्त परियोजनाले पश्चिम सिक्किमको सम्पर्क प्रणालीमा आमूल परिवर्तन ल्याउनुका साथै आर्थिक विकास, पर्यटन प्रवर्द्धन र जनसाधारणको आवागमनमा नयाँ अवसरहरू सिर्जना गर्नेछ।

रेलमन्त्री वैष्णवले सांसद सुब्बाद्वारा उठाइएका विषयहरू गम्भीरतापूर्वक सुने र ती विषयहरूको आवश्यक अध्ययन तथा परीक्षण गरिने आश्वासन दिए।

सांसद सुब्बाले रेल मन्त्रालयले भविष्यमा पनि सिक्किममा रेल पूर्वाधार विस्तारका लागि निरन्तर सहयोग गर्ने तथा राज्यवासीको लामो समयदेखिको आकांक्षा पूरा गर्न सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande