कैलाश मानसरोवर यात्राको पहिलो टोली नथुलाबाट प्रस्थान
तीर्थ यात्रीहरूलाई झण्डा हल्लाएर प्रस्थान गर्दै राज्यपाल


गान्तोक, 20 जून (हि.स.)। सिक्किमको नथुला पास (भारत-चीन सीमा) भएर शनिबार कैलाश मानसरोवरको लागि तीर्थ यात्रीहरूको पहिलो समूह प्रस्थान भएको छ। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले नथुलामा आयोजित एक औपचारिक कार्यक्रमबीच तीर्थ यात्रीहरूको पहिलो समूहलाई झण्डा देखाएर प्रस्थान गराए।

कोभिड महामारीपछि सिक्किमको नथुला पास भएर फेरि पवित्र कैलाश मानसरोवरको लागि तीर्थ यात्रा शुरु भएको छ। तीर्थ यात्रीहरूको पहिलो समूह नयाँ दिल्लीबाट 15 जून, 2026 मा राजधानी गान्तोक आइपुगेको थियो। सिक्किममा यतिका दिनसम्म तीर्थ यात्रीहरूलाई उच्च उचाई क्षेत्रमा अनुकूलनको निम्ति राखिएको थियो। पाँच दिनपछि यात्रीहरू नथुला भएर चीन प्रवेश गर्दै कैलाश मानसरोवरको निम्ति प्रस्थान गरेका छन्।हिन्दू धर्मको सबैभन्दा पवित्र तीर्थयात्रामध्ये एक मानिने यस यात्राले श्रद्धालुहरूलाई चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित पवित्र कैलाश पर्वत र मानसरोवर झीलसम्म पुर्‍याउँछ। पहिलो टोलीमा दुई जना सम्पर्क अधिकारी (लियाजन अफिसर), एक चिकित्सक तथा चार जना सहयोगी कर्मचारीसहित कुल ४७ जना रहेका छन्। तीमध्ये ४१ जना तीर्थयात्री छन्।

नथुलामा राज्यपाल माथुरलाई गार्ड अफ अनर प्रदान गरिएको थियो। त्यसपछि उनले तीर्थयात्रीहरूसँग भेटघाट गरी उनीहरूको स्वास्थ्य तथा तयारीबारे जानकारी लिए। उनले छ वर्षको अन्तरालपछि गत वर्षदेखि पुनः शुरु भएको यस यात्राको पहिलो टोलीमा सहभागी हुन पाउनु तीर्थयात्रीहरूका लागि ऐतिहासिक र गौरवपूर्ण अवसर रहेको बताए।

त्यसपछि राज्यपालले १४,१४० फिट उचाइमा अवस्थित नथुला पास हुँदै चीनको तिब्बत स्वायत्त क्षेत्रतर्फ प्रस्थान गर्ने तीर्थयात्रीहरूलाई झण्डा देखाएर बिदाइ गरे।

निर्धारित कार्यतालिका अनुसार, पहिलो टोली आज ग्याङजी पुग्ने अपेक्षा गरिएको छ। मानसरोवर परिक्रमा २७ जून, २०२६ मा सम्पन्न हुनेछ भने यो टोली १ जुलाई, २०२६ मा पुनः गान्तोक फर्कने कार्यक्रम रहेको छ।

समारोहमा पर्यटन तथा नागरिक उड्डयन विभाग मन्त्री टीटी भोटिया, पर्यटन तथा नागरिक उड्डयन विभागका आयुक्त एवं सचिव राजकुमार यादव, सिक्किम पर्यटन विकास निगमका प्रमुख कार्यकारी अधिकृत ग्युर्मी युसल, गान्तोकका जिल्लापाल रोहन अगावाने, पुलिस अधीक्षक महेन्द्र सुब्बा, आईटीबीपी तथा जाट रेजिमेन्टका अधिकारीहरू, तथा अन्य सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande