
गान्तोक, 20 जून (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको पाकिम जिल्लास्तरीय कार्यकर्ता सभा आज पदमचेमा सम्पन्न भयो। सभाको अध्यक्षता पार्टी अध्यक्ष गणेश कुमार राईले गरेको थियो।
सभालाई सम्बोधन गर्दै अध्यक्ष राईले एसकेएम मुख्यमन्त्री, विधायक, सांसद अनि सरकार ढाल्ने नियतमा मात्र खोलिएको आरोप लगाउॅंदै जनताले के पाए भनी प्रश्न गरे। उनले सिक्किमको पहिचानको सुरक्षा गर्न, सिक्किमेको भविष्यलाई सुरक्षा दिन, आम जनताको बुनियादी सुविधाको निम्ति संघर्ष गर्न सीएपी खोलिएको दाबी गरे।
प्रजातन्त्र बचाउन राजनीतिक पार्टी अनि विपक्ष हुन नितान्त जरुरी छ भन्दै उनले वर्तमान सरकार प्रजातन्त्रलाई संस्थागत गर्न होइन, तर सत्ताको लागि मात्र राजनीति गरिरहेको आरोप लगाए। उनले मुख्यमन्त्री हराएकाले रिनाक निर्वाचन क्षेत्रका जनताले नै आफुलाई सभा गर्न निम्त्याएको दाबी गरे।
उनले एसकेएम सरकारमाथि राज्यमा हिंसा फैलाउने असामाजिक तत्वहरूलाई जन्म दिएको आरोप लगाए। उनले राज्यमा आपराधिक घटनाहरू बन्द गराएर सिक्किमले कमाएको शान्ति राज्यको उपाधि बचाउन निवेदन गरे।
उल्लेखनीय छ, सीएपीको सभा आयोजनलाई लिएर आज पुलिस प्रशासनसॅंग कडा बहस भएको थियो। सीएपीले सभा आयोजनको निम्ति अगावै अनुमति लिएको, तर पुलिस प्रशासनले अनुमति खारेज भयो भन्दै सभा गर्न बाधा दिने चेष्टा गरेको आरोप लगाएको छ। सीएपीले सभा स्थल नजिकै सरकारी पाठशालाको छुट्टी भएपश्चात सभा शुरू गरिएको भए तापनि पुलिसले सभामा बाधा उत्पन्न गरेपछि माइक र साउण्ड बिनै सभालाई निरन्तरता दिइएको बताएको छ।
हिन्दुस्थान समाचार / बिशाल