
खरसाङ, 20 जून (हि.स.)। खरसाङ खण्ड अन्तर्गत चिमनी देवराली ग्रामका प्रधान बिमल तामाङसहित तीनजना पञ्चायत सदस्यहरु गोर्खा जनमुक्ति मोर्चामा सामेल भएपछि चिम्नी देउराली ग्राम पञ्चायतमा गोजमुमोको बोर्ड गठन भएको छ। चिमनी देवराली ग्राम पञ्चायतमा जम्मा 5 जना पञ्चायत सदस्य सदस्याहरु छन् भने तीनजना पञ्चायत सदस्यहरु शनिवार बिहान गोजमुमोमा सामेल भएका हुन्।
शनिवार बिहान खरसाङमा गोजमुमो अध्यक्ष बिमल गुरुङको हातबाट पार्टीको झण्डा थापेर चिम्नी देउराली ग्राम पञ्चायतका पञ्चायत प्रधान बिमल तामाङ, पञ्चायत सदस्य दिपेस थापा र सिमा थापा गोजमुमोमा सामेल भए। पञ्चायत प्रधान बिमल तामाङ इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा थिए भने दिपेस थापाले केही समय अघि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट राजीनामा दिएका थिए।
चिमनी देवराली ग्राम पञ्चायतमा गोजमुमोको नयाँ बोर्डमा पञ्चायत प्रधान बिमल तामाङ नै हुने र उप प्रधान दिपेस थापा हुने गोजमुमो खरसाङ महकुमा समितिका सभापति योगेन्द्र राईले जानकारी गराएका छन्। पार्टी अध्यक्ष बिमल गुरुङको उपस्थितिमा पञ्चायत सदस्यहरु गोजमुमोमा सामेल भएका थिए।
पञ्चायत प्रधान बिमल तामाङले भने, हामी चिम्नी देउराली ग्राम पञ्चायतको पञ्चायत सदस्यहरु गोजमुमोमा सामेल भएपछि गोजमुमोको नै बोर्ड गठन गरेको छ। हामी गोजमुमोमा सामेल भएको मुख्य कारण क्षेत्रीयता बचाउनु हो।
हिन्दुस्थान समाचार / हनोक