जन कल्याण संगठनको आयोजनामा सम्वर्द्धना कार्यक्रम, विशिष्ट व्यक्तिहरु सम्मानित
दुई बस्तीमा जन कल्याण संगठनको आयोजनामा सम्वर्द्धना कार्यक्रम


खरसाङ, 20 जून (हि.स.)। खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको जन कल्याण संगठन दुई नम्बर बस्ती, कोप्चे गाउँद्वारा सम्वर्द्धना कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा माध्यमिक तथा उच्च माध्यमिक तहमा उत्कृष्ट परिणाम हासिल गर्ने विद्यार्थीहरू, रङ्टङ्ग, दुई नम्बर बस्ती प्राथमिक पाठशालाका प्रधान अध्यापक, अवकाशप्राप्त शिक्षकहरू साथै समाजका वरिष्ठ व्यक्तिहरूलाई सम्मान तथा सम्वर्द्धना गरिएको छ।

संगठनका सभापति कुन्दन माझीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन हेमबहादुर सुब्बाले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रेमकुमार योञ्जन उपस्थित रहेका थिए भने विशिष्ट अतिथिहरूमा भीम छेत्री, धुर्व ब्राह्मण, सुदन लामा, बिमल गुरूङ लगायत अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नानीहरूले सांस्कृतिक नृत्य तथा कविता प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए। कार्यक्रमका क्रममा संगठनका सचिव सुमन माझी, रङ्टङ्ग, दुई नम्बर बस्ती प्राथमिक पाठशालाका प्रधान अध्यापक बिमल गुरूङ, प्रमुख अतिथि प्रेमकुमार योञ्जन तथा संगठनका भूतपूर्व संरक्षक सुदन लामाले आ-आफ्नो मन्तव्य राखेका थिए।

कार्यक्रममा शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान पत्र तथा मायाको चिह्न प्रदान गरिएको थियो। साथै, लामो समय शिक्षण सेवामा समर्पित भई अवकाशप्राप्त शिक्षकहरूलाई सम्मान गरी उनीहरूको योगदानको कदर गरिएको थियो।

आयोजक पक्षबाट युवराज थापाले कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य विद्यार्थीहरूलाई प्रेरणा दिनु, शिक्षाप्रतिको आकर्षण बढाउनु तथा समाजमा विशिष्ट योगदान पुर्याउने व्यक्तिहरूको सम्मान गर्नु रहेको बताए। उक्त कार्यक्रममा स्थानीय वरिष्ठ व्यक्तित्वहरू, अभिभावक, शिक्षक, समाजसेवी तथा गाउँवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande