विभिन्न राजनीतिक दलहरूद्वारा मिस्टर जोजोमाथि भएको आक्रमणको निन्दा, घटनाको निष्पक्ष जॉंच अनि कारबाहीको माग
विभिन्न राजनीतिक दलहरूद्वारा मिस्टर जोजोमाथि भएको आक्रमणको निन्दा, घटनाको निष्पक्ष जॉंच अनि कारबाहीको माग


गान्तोक, 20 जून (हि.स.)। गान्तोक, 20 जून (हि.स.)। दक्षिण सिक्किमको जोरथाङमा 19 जूनको राति पूर्ण कुमार तामाङ उर्फ मिस्टर जोजोमाथि भएको कथित प्राणघातक आक्रमणको विभिन्न राजनीतिक दलहरूले निन्दा गरेको छ। सङ्गठनहरूले पीडितप्रति ऐक्यबद्धता प्रकट गर्दै यस घटनामा संलग्न दोषीहरूलाई पक्राउ गरि कडा कानूनी कारबाहीको माग गरेका छन्।

सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीले पूर्ण कुमार तामाङमाथि गए राति भएको प्राणघातक हमला कुनै एकाध घटना होइन, यस्ता घटनाहरू राज्यमा दिनहूँ घटिरहेको दाबी गरेको छ। सरकारले गरेका गलत नीतिमाथि ज-जसले आवाज उठाइरहेका छन्, उसैमाथि मात्र पटक-पटक आक्रमण भइरहेको पनि एसडीएफले आरोप लगाएको छ। यसबाट सरकारी संरक्षण र सत्तारूढ सङ्गठनको योजनामा नै यस्ता जघन्य कुकृत्य भइरहेको स्पष्ट भएको एसडीएफ गम्भीर आरोप लगाएको छ।

एसडीएफले भनेको छ, 'पूर्णकुमार तामाङमाथि भएको प्राणघातक हमलाको घटना अत्यन्तै निन्दनीय र भत्सर्नीय घटना हो। प्रजातन्त्रमा सबैले सरकारका गलत नीतिमाथि विरोध जनाउने अधिकार पाउनुपर्छ। सरकारले आक्रमणकारीहरूलाई तुरून्तै पक्राउ गरेर कानुनी कारबाही गर्नुपर्छ।'

भारतीय जनता पार्टी (भाजपा) सिक्किम एकाइले पनि जोरथाङमा पूर्ण कुमार तामाङमाथि भएको क्रूर आक्रमणप्रति गहिरो दुःख व्यक्त गर्दै कडा शब्दमा निन्दा गरेको छ। प्रदेश भाजपाले लोकतान्त्रिक समाजमा यस्ता हिंसात्मक कार्यहरूको कुनै स्थान छैन र यसले हाम्रो राज्यको सद्भाव, सुरक्षा र सामाजिक संरचनामा गम्भीर खतरा निम्त्याउँछ भनी बताएको छ।

भाजपाले जनताको लागि आवाज उठाउनेहरू विरुद्ध हुने हिंसा अस्वीकार्य छ र कहिल्यै पनि सहन गरिनु हुँदैन भनेको छ। साथै, पुलिस अधिकारीहरू र राज्य प्रशासनलाई छिटो, निष्पक्ष र पूर्ण जॉंच गर्न तथा ढिलाई नगरी अपराधीहरूको पहिचान गरेर उनीहरूलाई न्यायको कठघरामा ल्याउन आग्रह गरेको छ।

सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले पूर्ण कुमार तामाङमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गर्दै यस्ता घटनाहरूले राज्यको कानून व्यवस्थाको अवस्थाको बारेमा गम्भीर प्रश्नहरू उठाउँछ भनी बताएको छ। सीएपीले पीडित तामाङ एक मुखर सामाजिक सञ्जाल टिप्पणीकार रहेको बताउॅंदै उनले जनता-केन्द्रित मुद्दाहरू, सार्वजनिक गुनासोहरू र आम नागरिकहरूको कल्याणसँग सम्बन्धित विषयहरूलाई निरन्तर उठाउने गरेको बताएको छ।

सीएपीले जनतालाई असर गर्ने मुद्दाहरू उठाउने व्यक्तिमाथिको कुनै पनि आक्रमण अभिव्यक्तिको स्वतन्त्रता र लोकतान्त्रिक अधिकारमाथिको आक्रमण ठहर गरेको छ। सीएपीले बारम्बार हिंसाका घटनाहरू भए पनि अपराधीहरू पक्राउ हुनुबाट किन बाचिरहेका छन् भनी प्रश्न गरेको छ। पार्टीले जिम्मेवार व्यक्तिहरूलाई तुरुन्तै पक्राउ गर्नुपर्छ, घटनाको पूर्ण र पारदर्शी जॉंच हुनुपर्छ भन्ने माग गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande