
खरसाङ, 20 जून (हि.स.)। घैयाबारी ग्राम पञ्चायत दुई अन्तर्गत तीनधारेको गोलाई पाखास्थित बुथ नम्बर 250 संसद 6 मा अविरल वर्षाका कारण शान्ता तामाङको घरको नजिक पैह्रौ गएको छ। यस पैह्रौको झट्टै रोकथाम नगरे ज्यानमाललाई खतरा हुने सम्भावना रहेको छ। पैह्रो घर नजिकदेखि गएर राष्ट्रिय राजमार्ग पुगेको छ।
पैह्रोको निरीक्षण गर्न आज घैयाबारी ग्राम पञ्चायत दुईका पञ्चायत सदस्य अजय विश्वकर्मा र पञ्चायत सदस्या सुश्मिता गजमेरले भ्रमण गरेका थिए। पैह्रो भ्रमणपछि पञ्चायत सदस्यद्वयले पैह्रो पीडित परिवारका समस्याहरू समाधानका लागि पहल गरिदिने आश्वासन दिए। अहिलेलाई पानी झरीमा पैह्रो रोकथामको निम्ति पञ्चायत कार्यालयबाट तारपोलिन प्रदान गरिएको छ।
पञ्चायत सदस्य अजय विश्वकर्मले जानकारी गराए अनुसार, तीनधारेको विभिन्न स्थानहरुमा गएको पैह्रोको निरीक्षण गरिएको छ। यसै ग्राम पञ्चायतको दुई नम्बर बस्तीमा प्रकाश सार्कीको घर पनि पैह्रोले प्रभावित बनेको छ।
हिन्दुस्थान समाचार / हनोक