
गुवाहाटी, 21 जून (हि.स.)। ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ (योगा फार हेल्दी एजिङ्ग) थीम लिएर आइतवार डिमोरिया समजिला प्रशासनको सहयोगमा राष्ट्रिय आयूष मिशनको तत्वावधानमा कमारकुचीस्थित लक्ष्मीबाई राष्ट्रिय शारीरिक शिक्षा संस्थानमा 12औं अन्तर्राष्ट्रिय योग दिवस मनाइयो।
यस अवसरमा आयोजित कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित भएर असम सरकारका वित्त, पर्यावरण एवं वन तथा खनिज एवं खनन मन्त्री जयन्त मल्ल बरुवाले भने, नियमित योगाभ्यासबाट वृद्धावस्थालाई स्वस्थ एवं सक्रिय बनाउन सकिन्छ। उनले भने, यसै सन्देशलाई लिएर सारा देशभरि अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ। योगको नियमित अभ्यासबाट भारतलाई एक स्वस्थ राष्ट्रको रूपमा विकसित गर्नमा सहयोग पुग्नेछ। उनले मानिसहरूसित प्रतिदिन योग गर्ने आह्वान गर्दै भने, असममा स्वयं सहायता समूहहरूको माध्यमबाट 32 लाखभन्दा अधिक महिलाहरू योगसित जोड़िसकेका छन्।
डिमोरियाका विधायक डा. तपन दासले भने, योग मन, शरीर औ आत्मालाई एकसूत्रमा जोड़्ने एक वैज्ञानिक पद्धति हो। नियमित योगाभ्यासबाट वृद्धा अवस्थाको कारणले हुने अनेकौं शारीरिक समस्याहरूबाट धेरै हदसम्म राहत पाउन सकिन्छ। त्यसैले सबैले योगलाई आफ्नो जवनको अङ्ग बनाउनुपर्छ।
कार्यक्रममा कामरूप महानगर जिल्लाका विभिन्न क्षेत्रहरूबाट आएका पाँच जना योग प्रशिक्षकहरूले योग प्रदर्शन गरे। कार्यक्रममा अतिरिक्त मुख्य सचिव डा. बी कल्याण चक्रवर्ती, असम राज्य ग्रामीण आजीविका मिशनका मिशन निदेशक कुन्तलमणि शर्मा बरदलै, जिल्ला परिषदकी मुख्य कार्यकारी अधिकारी कल्पना डेका, सहायक आयुक्त ऋची वन्दना गोगोई, डिमोरिया समजिलाका सहायक आयुक्त हीरक ज्योति सैकिया सहित विभिन्न विभागका अधिकारी, कर्मचारी, विद्यार्थी, स्वयं सहायता समूहहरूका सदस्याहरू, पञ्चायत प्रतिनिधि, सुरक्षा बलहरूका जवान अनि स्थानीय मानिसहरू उपस्थित थिए।
यसरी नै न्यू गुवाहाटी तथा जालुकबाड़ी समजिलामा पनि अन्तर्राष्ट्रिय योग दिवस गरिमापूर्ण ढङ्गमा मनाइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा