
जलपाईगुड़ी, 21 जून (हि.स.)। जिल्लाको मयनागुड़ीमा आइतवार बिहान ठूलो सड़क दुर्घटना भयो जतिबेला नर्थ बङ्गाल स्टेट ट्रान्सपोर्ट कर्पोरेशन (एनबीएसटीसी)- को एउटा बस ट्रकसित ठोक्कियो। घटना मयनागुड़ीको उदलाबाड़ी क्षेत्रमा भएको हो जतिबेला बस सिलगढ़ीदेखि फालाकाटा तर्फ गइरहेको थियो।
प्राप्त जानकारी अनुसार टिस्टा ब्रिज पार गरिसकेपछि बसले सड़क किनारमा खड़ा एउटा ट्रकलाई पछाड़िबाट भयानक ठक्कर दियो। यस घटनामा धेरै जना यात्रीहरू घाइते भएको समाचार प्राप्त भएको छ जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
घटनाको सूचना पाएर पुलिस, दमकल विभाग औ एम्बुलेन्स घटनास्थलमा पुगे अनि बचाउ एवं राहत कार्य शुरू गरे। घाइतेहरूलाई जलपाईगुड़ी सुपर स्पेशलिटी अस्पताल तथा मयनागुड़ी ग्रामीण अस्पतालमा भर्ती गरिएको छ।
दुर्घटनाको कारणले हाल त्यस रूटमा यातायात पूर्ण रूपमा बाधित भएको छ। पुलिस अनि दमकल विभागको टीम दुर्घटनाग्रस्त वाहनहरूलाई हटाएर स्थिति सामान्य बनाउनमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा