
गान्तोक, 21 जून (हि.स.)। राजधानीको रिज पार्कमा आज बिहान १२औँ अन्तरराष्ट्रिय योग दिवसको अवसरमा राज्यस्तरीय समारोह आयोजन गरियो। यस अवसरमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथिका रूपमा सहभागगी बने।आयुष विभाग तथा स्वास्थ्य एवं परिवार कल्याण विभागद्वारा आयोजित विशेष योग सत्रमा सिक्किम विधानसभाका अध्यक्ष मिंग्मा नर्बु शेर्पा, स्वास्थ्य तथा परिवार कल्याण विभागका मन्त्री जीटी ढुङ्गेलसहित मन्त्रीहरू, विधायकहरू, वरिष्ठ प्रशासनिक अधिकारीहरू तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।यस वर्षको योग दिवसको विषय ‘स्वस्थ आयुका लागि योग’ रहेको छ, जसको उद्देश्य बढ्दो उमेरसँगै शारीरिक तथा मानसिक स्वास्थ्यलाई सुदृढ बनाउनु हो। राज्यपालले सबै सहभागीहरूसँग विभिन्न योगासनहरूको अभ्यास गरे। आयुष विभागका अनुभवी योग प्रशिक्षकहरूको मार्गदर्शनमा सामान्य योग प्रोटोकलअनुसार प्राणायाम, ध्यान तथा विभिन्न योगासनहरूको प्रदर्शन गरिएको थियो।राज्यपालले सिक्किमवासीहरूलाई शुभकामना व्यक्त गर्दै भने, “योग भारतले सम्पूर्ण मानव जातिलाई दिएको अमूल्य उपहार हो, जसले शारीरिक र मानसिक स्वास्थ्यबीच सन्तुलन कायम राख्न मद्दत गर्दछ।” यस वर्षको विषयबारे प्रकाश पार्दै उनले योग कुनै उमेर वा सीमाभित्र बाँधिएको अभ्यास नभई सबै उमेर समूहका लागि उपयोगी साधना भएको बताए। उनले बढ्दो उमेरलाई गरिमा, सक्रियता र मानसिक शान्तिको प्रतीक बनाउने समाज निर्माणका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए। राज्यपालले प्रधानमन्त्री नरेन्द्र मोदीको प्रयासको प्रशंसा गर्दै प्रधानमन्त्रीले योगलाई विश्वव्यापी स्तरमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे। उनले भने, 'स्वस्थ राज्यले मात्र समृद्ध राष्ट्र निर्माण गर्न सक्छ।' उनले योगलाई दैनिक जीवनको अभिन्न अंग बनाई स्वस्थ, समृद्ध सिक्किम तथा विकसित भारत निर्माणमा योगदान दिन सबैलाई आह्वान गरे। सिक्किमको भौगोलिक तथा प्राकृतिक विशेषताको प्रशंसा गर्दै राज्यपालले सिक्किम योग, ध्यान र साधनाका लागि देशकै सबैभन्दा उपयुक्त तथा उत्कृष्ट वातावरण भएको प्रदेश रहेको बताए। उनले सिक्किममा शारीरिक स्वास्थ्यका साथै मानसिक र आध्यात्मिक चेतनालाई जागृत गराउने विश्वस्तरीय योग केन्द्र बन्ने अपार सम्भावना रहेको पनि उल्लेख गरे।
हिन्दुस्थान समाचार / बिशाल