
खरसाङ, 21 जून (हि.स.)। खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतको महानदी ग्राम पञ्चायत बोर्ड पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) बाट फुत्किएको छ। महानदी ग्राम पञ्चायतका चारजना पञ्चायत सदस्यहरु भारतीय जनता पार्टीमा सामेल भएपछि बोर्ड भागोप्रमोको हाथबाट फुत्किएको हो।
भाजपामा सामेल हुनेहरुमा महानदी ग्राम पञ्चायतकी उप प्रधान सोनिका तामाङ, पञ्चायत सदस्य राजीव तामाङ र सदस्याहरु रञ्जना छेत्री र जुना छेत्री रहेका छन्। उनीहरूलाई आज भाजपा दार्जिलिङ जिल्ला सचिव बिनय प्रसाद, मिडिया प्रभारी चन्दन प्रसाद, तीनधारे महानदी मण्डलको संयोजक योगेन्द्र छेत्री र घुम्ती चियाबारी बुथ कमिटीका सभापति शेखर छेत्रीले भाजपाको झण्डा ग्रहण गराए।
उल्लेखनीय छ, महानदी ग्राम पञ्चायतमा जम्मा 7 जना सदस्यहरू छन्, जसमा 4 जना भारतीय जनता पार्टीमा सामेल भएपछि अब महानदी ग्राम पञ्चायतमा भारतीय जनता पार्टीको पञ्चायत बोर्ड गठन हुने निश्चित देखिएको छ।
हिन्दुस्थान समाचार / हनोक