
हुगली, 21 जून (हि. स.)। पाण्डुआ थाना क्षेत्रको सिमलागढ़-तालबोना क्षेत्रमा आइतवार बिहान वज्रपातको चपेटमा परी एक जना सिभिक भोलन्टियरको मृत्यु भयो। मृतकको पहिचान बाप्पा मुखर्जी (40)- को रूपमा भएको छ। यस घटनामा उनको गाईको पनि मृत्यु भएको छ।
स्थानीय सूत्र अनुसार बाप्पा मुखर्जी बिहान आफ्नो गाईलाई लिएर खेतमा गएका थिए। घरतिर फर्किँदा अचानक तीव्र वर्षासितै चट्याङ्ग पर्न थाल्यो। यसै अवधि परेको चट्याङ्गको चपेटमा परी उनी घटनास्थलमै मुर्छित परे।
घटना बारे जानकारी पाउनसाथ स्थानीय मानिसहरू घटनास्थलमा पुगे अनि गम्भीर रूपमा घाइते बाप्पालाई तत्काल पाण्डुआ ग्रामीण अस्पतालमा लगियो जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरिदिए।
मृतकका दाज्यु सजल मुखर्जीले बताए, मेरो भाइ गाईलाई लिएर खेतमा गएको थियो। फर्किँदा अचानक चट्याङ्ग पऱ्यो। अस्पतालमा पुऱ्याउँदा डाक्टरहरूले उनलाई मृत घोषित गरिदिए।
सूचना पाए लगत्तै पाण्डुआ थानाको पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि चुँचुड़ा इमामबाड़ा सदर अस्पतालमा पठाइदियो।
पुलिसको प्रारम्भिक अनुमानमा मृत्यु वज्रपातको कारणले नै भएको हो तथापि मामिलाका अन्य पाटोहरूको पनि जाँच गरिँदैछ। यस घटनाको कारणले सम्पूर्ण क्षेत्र शोकमा डुबेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा