
गान्तोक, 21 जून (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमको एक प्रतिनिधिमण्डलले आज उत्तर सिक्किमको भ्रमण गऱ्यो। प्रदेश प्रवक्ता साङ्गे ग्याछो भोटियाको अगुवाईमा प्रतिनिधिमण्डलले हाल सडकहरूको अस्थिर अवस्थाको बारेमा क्षेत्रका बासिन्दाहरूबाट प्राप्त गुनासो र चिन्ताहरूलाई ध्यानमा राख्दै भ्रमण गरेको प्रेस विज्ञप्तिमा बताइएको छ।
भ्रमणको क्रममा भाजपा टोलीले १०७ रोड कन्स्ट्रक्सन कम्पनी ग्रेफका अफिसर कमान्डिङ लेफ्टिनेन्ट कर्नल रवीश अत्रीसँग भेट गरी जिल्लावासीहरूले सामना गर्नु परिरहेका सडक सम्पर्कसॅंग सम्बन्धित चुनौतीहरू र पूर्वाधार सुधार गर्न जारी प्रयासहरूबारे छलफल गऱ्यो।
भाजपा प्रतिनिधिमण्डलले उत्तर सिक्किम राजमार्गको महत्त्वमा जोड दिॅंदै सीमावर्ती गाउँहरूलाई राज्यको बाँकी भागसँग जोड्ने एकमात्र राजमार्ग रहेको बताए। यसैगरी, टोलीले राजमार्गको रणनीतिक महत्त्वलाई प्रकाश पार्दै टोलीले अन्तरराष्ट्रिय सीमामा तैनाथ रक्षा बलहरूको आवागमन र रसद समर्थनको लागि पनि यो एक आवश्यक मार्ग रहेको बतायो।
लेफ्टिनेन्ट कर्नल रवीश अत्रीले प्रतिनिधिमण्डलले उठाएका चिन्ताहरूलाई स्वीकार गर्दै उत्तर सिक्किममा सम्पर्क कायम राख्नुको महत्त्वलाई जोड दिए। उनले आफ्नो क्षेत्राधिकार अन्तर्गत १०७ आरसीसी (ग्रेफ) ले चुनौतीपूर्ण भूभाग र प्रतिकूल मौसमी अवस्थाहरूको बावजुद निर्बाध सम्पर्क सुनिश्चित गर्न चौबीसै घण्टा अथक प्रयास गरिरहेको जानकारी गराए। उनले रक्षा मन्त्रालय मार्फत भारत सरकार उत्तर सिक्किममा सम्पर्क सुदृढ पार्न पूर्ण रूपमा प्रतिबद्ध रहेको आश्वासन दिए।
यस अतिरिक्त, अफिसर कमान्डिङले प्रतिनिधिमण्डललाई भारतमाला पहल अन्तर्गत सीमावर्ती क्षेत्रहरूमा धेरै सडक पूर्वाधार परियोजनाहरू सञ्चालन भइरहेको जानकारी गराए। भाजपा प्रतिनिधिमण्डलले ग्रेफ कर्मचारीहरूको समर्पण र प्रयासको लागि प्रशंसा व्यक्त गर्दै उत्तर सिक्किमका जनताका लागि राम्रो पूर्वाधार, उन्नत कनेक्टिभिटी र दिगो विकास सुनिश्चित गर्न काम गरिरहने बताएको छ।
हिन्दुस्थान समाचार / बिशाल