खरसाङमा क्रीडा भारतीको आयोजनामा अन्तरराष्ट्रिय योगा दिवस पालन
अन्तर्राष्ट्रिय योगा दिवस


खरसाङ, 21 जून (हि.स.)। क्रिडा भारती खरसाङ शाखाको आयोजनामा आज खरसाङमा 12औं अन्तरराष्ट्रिय योगा दिवस पालन गरियो। खरसाङको सन्त अल्फन्सेस उच्चत्तर माध्यमिक विद्यालयमा आयोजित योग शिविरमा खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, विभिन्न खेलकूदहरुसित संघ संस्थाहरुका प्रतिनिधिहरु साथै विद्यार्थीहरुले सहभागिता जनाएका थिए।

उक्त योग शिविरमा प्रमुख अतिथिको रुपमा सन्त अल्फन्सेस विद्यालयका प्रधानाध्यापक फादर केविन मोक्तान अनि विशिष्ट अतिथिको रुपमा खरसाङका विधायक सोनाम लामा उपस्थित रहेका थिए। शिविरमा योग प्रशिक्षकका रूपमा सञ्जय छेत्री, अश्विनी अग्रवाल र नेहाल अग्रवाल उपस्थित थिए। प्रशिक्षकहरुले उपस्थित मानिसहरुलाई विभिन्न योग आशनहरु सिखाएका थिए।

खरसाङका विधायक सोनाम लामाले आफ्नो सम्बोधनमा योगले विश्वमा क्रान्ति ल्याएको बताए। उनले योग सबैले गर्न सक्ने व्यायाम रहेको बताउँदै यसले धेरै फाइदा हुने र धेरै बिमारीहरुबाट जोगाउने बताए। उनले खरसाङमा आयोजित योगाको कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरूमा पनि खरसाङमा योगलाई लिएर कार्यक्रम आयोजना गरिने कुरामा आशावादी रहेको बताए।

अन्तरराष्ट्रिय योगा दिवसको अवसरमा आयोजित योग शिविर विषयमा क्रिडा भारती उत्तर बंगालका कार्यकारी सदस्य अशोक चौरासियाले क्रिडा भारती खरसाङ शाखाको आयोजनामा अन्तरराष्ट्रिय योग दिवसको अवसरमा यो योग शिविरको आयोजना गरिएको बताए। उनले यसको मुख्य उद्देश्य फिट इण्डिया मुभमेन्टलाई बढावा दिनु र सुस्वास्थ्यलाई प्रवर्धन गर्नु रहेको बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande