
गुवाहाटी, 22 जून (हि.स.)। अरुणाचल प्रदेशमा लगातार परिरहेको मुसलधारे पानीको कारणले चिले नदीमा आएको बाढ़ीले जोनाई क्षेत्रमा कहर मचाएको छ। बढ़्दो जलस्तरको कारणले सड़क, घर-द्वार तथा विस्तृत कृषि भूमि जलमग्न भएको छ जसबाट जनजीवन पूर्ण रूपमा प्रभावित भएको छ।
राभाकाठनी, शान्तिपुर तथा मालभोग गाउँका अधिकांश क्षेत्रहरू बाढ़ीको चपेटमा परेका छन्। बाढ़ीको कारणले आवागमन बाधित भएको छ भने धेरै वटा विद्यालयहरूमा पठन-पाठन नै ठप्प भएको छ। स्थानीय मानिसहरूलाई विभिन्न कठिनाईको सामना गर्न परिरहेको छ।
यता सोनारीमा पाँचौ दिन पनि बाढ़ीको स्थितिमा कुनै सुधार आएको छैन। सोनारी नगर सहित वरपरका केही क्षेत्रहरू अहिले पनि पानीमा डुबेका छन्। बाढ़ी प्रभावित मानिसहरूले स्थानीय जनप्रतिनिधि तथा प्रशासनमाथि कुनै चासो नदेखाएको आरोप लगाएका छन्।
वार्ड नम्बर-6 मा केही परिवारहरू एउटै कोठामा बस्नका लागि बाध्य हुन परिरहेको छ। अस्वास्थ्यकर वातावरणमा बसिरहेका बाढ़ी पीड़ितहरूले प्रशासनसित शीघ्र शुद्ध पिउने पानी तथा खाद्य सामग्री उपलब्ध गराउने माग गरेका छन्। उनीहरूको भनाइ छ, समयमा राहत पुगेन भने स्थिति अझ गम्भीर हुनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा