
कोलकाता, 22 जून (हि.स.)। भीषण गर्मी एवं आद्रतापूर्ण मौसमबीच अन्ततः पश्चिम बङ्गालमा राहतको वर्षा शुरू भएको छ। सप्ताहान्तमा भएको कोलकाता समेत दक्षिण बङ्गालका केही जिल्लाहरूमा प्री-मनसुन वर्षाले तापमानमा ह्रास दर्ता गरिएको छ भने केही जिल्लाहरूमा अतिघना वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै भारतीय मौसम विभागले चेताउनी जारी गरेको छ।
मौसम विभाग अनुसार दक्षिण बङ्गालका अधिकांश जिल्लाहरूमा आगामी 24-देखि 48 घण्टासम्म बादल लागिरहनेछ, मेघ गर्जनसितै मध्यमदेखि घना वर्षा तथा तीव्र हावा चल्ने सम्भावना छ। विशेष रूपमा हुगली, दक्षिण 24 परगना, पूर्व मेदिनीपुर, पश्चिम मेदिनीपुर तथा पूर्व बर्धमान जिल्लामा अति भारी वर्षालाई लिएर रेड तथा अरेञ्ज अलर्ट जारी गरिएको छ। पश्चिम मेदिनीपुर, बाँकुड़ा अनि झाड़ग्राममा सोमवार सवेरैदेखि रोकिँदै पानी परिरहेको छ।
यता कोलकातामा गत शनिवार रातीदेखि नै रोकिँदै पानी परिरहेको कारणले तापमान घटेको छ। तथापि शहरका केही तल्लो भागहरूमा जलसमाउको समस्या देखिए पनि कैयौं दिनदेखि जारी आद्रतापूर्ण गर्मीबाट मानिसहरूले राहत पाएका छन्।
अर्कोतिर उत्तर बङ्गालमा पनि घना वर्षाको सिलसिला जारी छ। जलपाईगुड़ी र अलिपुरद्वारमा 200 मिलीमीटरभन्दा अधिक वर्षा हुने सम्भावनालाई केन्द्र गर्दै रेड अलर्ट जारी गरिएको छ। यस अतिरिक्त दार्जीलिङ, कालेबुङ अनि कुचबिहारमा घना वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। पहाड़ी क्षेत्रहरूमा पैह्रो, नदीको जलस्तर बढ़्ने तथा तल्लो क्षेत्रहरूमा जलभराउको खतरा कायम छ।
मौसम वैज्ञानिकहरू अनुसार आगामी केही दिनसम्म सम्पूर्ण पश्चिम बङ्गालमा मनसुन सक्रिय रहनेछ तथा तापमान सामान्यदेखि दुई-तीन डिग्री सेल्सियससम्म घट्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा