
गोरामुमोमा मुद्दा छ, तर अन्य दलको केही मुद्दा छैन: निरज जिम्बा
खरसाङ, 22 जून (हि.स.)। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) खरसाङ ब्राञ्च कमिटीद्वारा सोमवार गोरामुमोको संस्थापक अध्यक्ष सुवास घिसिङको ९०औं जयन्ती पालन गरिएको छ। खरसाङको सुपर मार्केट कम्युनिटी हलमा सम्पन्न जयन्ती समारोहको अध्यक्षता खरसाङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामाले गरेको थियो। कार्यक्रममा पूर्व विधायक निरज जिम्बा प्रमुख अतिथि थिए।
प्रमुख वक्ताको रुपमा आफ्नो सम्बोधन राख्दै पूर्व विधायक निरज जिम्बाले भने,'विपक्षले जति नै गाली गरे पनि सुवास घिसिङले कसैलाई पनि गाली गरेनन्। तपाईं हाम्रो संघर्ष सकिएको जस्तो लाग्छ। तपाईं हाम्रो संघर्ष २००९ भन्दा अघिदेखि हो, आज थाहा पाउँदैछ जीटीए के हो भनेर। भर्खरै बंगाल विधानसभामा राज्यपालले दिएको ऐतिहासिक वक्तव्यले गोर्खाहरुको निम्ति ठूलो कुरा हो, यसकारण जे पनि हुन्छ हाम्रै हुन्छ राम्रै हुन्छ।'
उनले अघि भने, गोरामुमोमा मुद्दा छ, तर अन्य दलको केही मुद्दा छैन। पहाडमा सबैभन्दा अनुशासनमा रहने दल गोरामुमो हो अनि पहाडको अनुशासित नेता भनेको केवल मन घिसिङ हुन्। दिल्लीमा खिर पाक्दै छ भनेर बारम्बार भन्दै आएको थिए, तर कस्तो खिर पाक्दैछ भनेको थिइन। तर, दिल्ली र कलकत्तामा सुवास घिसिङले तयार पारेको खिर पाक्दैछ आज भन्दै छु। अब हामीले कम्मर कस्नुपर्छ। अब पनि चुक्यौ भने फेरि केही हुने छैन।
उनले अझ भने, तीनवटा नाराले दार्जिलिङ पहाड बिगारेको हो, 'छैटौं अनुसूची चाहिॅंदैन, सुवास घिसिङ गो ब्याक, हरियो झण्डा मुर्दाबाद। अब नारा परिवर्तन गरेको असल हो। अब गोर्खाको भाग्य बिगार्ने नारा लगाउनु हुँदैन। यो देशमा गोर्खाको निम्ति तीन तीनवटा अकर्ड गर्ने दल हो गोर्खा राष्ट्रिय मुक्ति मोर्चा। दिल्लीमा सबै हिसाब किताब छ। हरियो झण्डसको नेतृत्वलाई दिल्लीले हेर्दैछ। यसकारण अब हरियो झण्डाले नै गोर्खा जातिलाई न्याय दिलाउने छ।'
हिन्दुस्थान समाचार / हनोक