
लेकनाथ खालिङ एक सशक्त र अध्ययनशील व्यक्ति हुन्: पारसचन्द्र आले
खरसाङ, 22 जून (हि.स.)। खरसाङमा कवि लेकनाथ खालिङद्वारा लिखित पहिलो कविता सङ्ग्रह 'हेन्खामा' को लोकार्पण गरिएको छ। खरसाङको गोर्खा जनपुस्तकालय भवनको डा पारसमणि प्रधान प्रेक्षागृहा सम्पन्न लोकार्पण कार्यक्रम अध्यक्षता आकाशवाणी खरसाङका पूर्व कार्यक्रम प्रमुख पारसचन्द्र आलेले गरेका थिए। यस अवसरमा साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्या एवं गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा आशा मुखिया लामा मुख्य अतिथि थिइन्।
कवि एवं पत्रकार हनोक थापाले सञ्चालन गरेको कार्यक्रममा कवि लेकनाथ खालिङद्वारा लिखित पहिलो कविता सङ्ग्रह 'हेन्खामा' को सभाध्यक्ष, प्रमुख अतिथि र आमन्त्रित अतिथिहरूको बाहुलीद्वारा लोकार्पण गरियो। पुस्तक लोकार्पणको घोषणा प्रमुख अतिथि आशा मुखिया लामाले गरेकी थिइन्।
लोकार्पित पुस्तक 'हेन्खामा' माथि साहित्यकार एवं प्राध्यापक डीबी मंगरले समीक्षात्मक टिप्पणी राखेका थिए। उनले आफ्नो टिप्पणीमा लोकनाथ खालिङको कवितामा मुन्धुमीय दर्शन रहेको र मुन्धुम अनुसार हेन्खामाको अर्थ धरती रहेको बताए। उनले भने, हेन्खामा कविता सङ्ग्रहमा पुर्खाहरुले सिँचेको कथ्य खुलेर आएको छ। यी कविताहरुमा परम्परागत विषय र वर्तमान विषयका कुराहरु पाउँछौं। कवि लेकनाथले काव्यात्मक बाटो हिँड्ने प्रयास गरेका छन्। किराँती संस्कृति र प्रकृतिसितको दर्शन कवितामा प्रस्तुत गरेका छन्।'
कार्यक्रममा कवि लेकनाथ राईले कार्यक्रममा उपस्थित सबैप्रति आभार प्रकट गर्दै आफ्नो लोकार्पण गरिएको पुस्तकबाट दुईवटा कविता वाचन गरेका थिए। उनले कार्यक्रममा आफ्नो कवितामाथि राखिएका टिप्पणीहरूलाई ध्यानमा राखेर अघि बढ्ने र कवि बन्न प्रयास गर्ने बताए।
यसैगरी, प्रमुख अतिथि आशा मुखिया लामाले आफ्नो सम्बोधनमा हामीले हाम्रो लेखद्वारा समाजका संस्कार, संस्कृति, हाम्रो अभिव्यक्ति, समाजका विसंगतिहरु, अन्यायहरु लेख्नुपर्छ भनी बताइन्। उनले संस्कृति संरक्षणको माध्यमबाट समाजलई अघि बढाउनुपर्छ भनिन्।
कार्यक्रममा सभाध्यक्ष पारसचन्द्र आलेले लेकनाथले पर्यावरण, संस्कृति संरक्षणको कविता लेखेका छन्, जुन स्थायी हो भनी बताए। उनले कवि लेकनाथ धेरै पढ्ने र लेख्ने व्यक्ति हुन् भन्दै उनी एक सशक्त र अध्ययनशील व्यक्ति रहेको बताए।
कार्यक्रममा गजलगोहरु क्रमैले अरुण साम्पाङ, सुवास श्रेष्ठ, धिरेन संघर्ष, सुवास छेत्री भावुक, दिपक ठटाल 'जलन' आदिले गजल वाचन गरेका थिए। त्यसरी नै कविहरु क्रमैले बालकृष्ण थामी, उमेश कार्कीढोली, आरती ठकुरी, सुशान्त मोक्तान, बिनिता लामा आदिले कविता वाचन गरेका थिए।
हिन्दुस्थान समाचार / हनोक